काठमाडौं। पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङको त्रिशूलीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।
सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी राजमार्गमा ग२ख १४२१ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए।
अनियन्त्रित भएर २०० मिटर तल त्रिशूली नदी किनारामा खसेको बसका मृतक र घाइतेको उद्धार सकिएको का धादिङ डीएसपी दाहालको भनाइ छ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये ९ जनाको सनाखत भएको छ। एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ। पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय ननीन्द्र श्रेष्ठको मृत्यु भएको हो।
अन्य मृतकको पहिचान खुलिसकेको छैन। मृत्यु हुने एक जनाको दाहिने हातको नाडीमा रोहित लेखिएको र अर्काको नाडीमा चमेरो र गितारको ट्याटु भएका व्यक्ति छन्।
दुर्घटनामा घाइते १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। १० जनको कलंकीस्थित नेसनल मेडिकल कलेज र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।