काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ठेकेदारप्रति दिएको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासंघ ले गम्भीर आपत्ति जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा फागुन ६ गते धनगढीमा आयोजित रास्वपाको चुनावी सभामा बालेनले व्यक्त गरेको धारणा असभ्य र उत्तेजक भएको उल्लेख गरिएको छ।
निर्माण व्यवसायीहरूले विभिन्न चुनौतीका बाबजुद भौतिक पूर्वाधार क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको दाबी गर्दै महासंघले पटक–पटक उनीहरूको मनोबल गिराउने अभिव्यक्तिहरू सार्वजनिक हुने गरेको जनाएको छ।
उक्त सभामा बालेनले “दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्ने त्यो हो हाम्रो एजेण्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्यो” भन्ने अभिव्यक्ति दिएका थिए। महासंघले यसलाई सस्तो लोकप्रियताका लागि गरिएको टिप्पणी तथा निर्वाचन आचारसंहिताविपरीतको कार्य भएको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, “प्राविधिक पृष्ठभूमिका वरिष्ठ नेताले निर्माण कार्यमा भइरहेको ढिलाइका वास्तविक कारणहरू पहिचान गरी समाधानको बाटो सुझाउनु पर्नेमा अमर्यादित अभिव्यक्ति दिनु अराजक शैली हो।”
साथै, निर्वाचनको पूर्वसन्ध्यामा ३० हजारभन्दा बढी निर्माण व्यवसायीको तेजोबध गर्ने गरी अभिव्यक्ति आएको भन्दै महासंघले बालेनसँग अविलम्ब सार्वजनिक आत्मालोचना गर्न माग गरेको छ। महासंघले अमर्यादित तथा उत्तेजक भाषणलाई गम्भीर रूपमा लिई आवश्यक निर्देशन दिन निर्वाचन आयोग को ध्यानाकर्षणसमेत गराएको जनाएको छ।
साथै, अन्य राजनीतिक दलका नेताहरूलाई पनि निर्माण उद्योगले मुलुकको आर्थिक विकासमा खेलेको भूमिकालाई आत्मसात गर्दै जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरिएको छ। निर्वाचनपछि गठन हुने संसद् तथा मन्त्रिपरिषद्को पहिलो बैठकमै पूर्वाधार क्षेत्रको विकासका लागि आवश्यक ‘छाता ऐन’ तर्जुमा गर्ने प्रस्ताव अघि सार्न महासंघले अनुरोध गरेको छ।
