काठमाडौं। सामान्यतया फागुन महिना बाह्य पर्यटकका लागि उपयुक्त मौसम हो। पदयात्राका लागि धेरै विदेशी नेपाल आउने गर्छन् र आन्तरिक पर्यटकको पनि चहलपहल हुने सिजन हो।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकमा प्रतिनिधिसभा निर्वाचन हुँदै छ। निर्वाचन, त्यसअघि प्रचारप्रसारको क्रममा हुने हुलदंगा र सीमा बन्द गर्ने प्रवृत्तिले पर्यटक त्रसित हुन थालेका छन्। त्यसको असर अन्ततः पर्यटक आगमनमा पर्नुका साथै होटल व्यवसायमा ठूलो समस्या आउन थालेको छ।
होटल एसोसिएसन अफ नेपाल(हान)का कोषाध्यक्ष युवराज श्रेष्ठले निर्वाचन मिति नजिकिएसँगै पर्यटक संख्या घट्दै गएको बताए। केही दिनदेखि तराईमा भएको साम्प्रदायिक घटना र राजनीतिक दलबीच चुनावी प्रचारमा भएको हुलदंगाको कारण बुक गरेका विदेशीले पनि सोधखोज गर्न थालेको उनकाे भनाइ छ।
निर्वाचनको बेला सुरक्षाको कारण देखाउँदै तीन दिनसम्म हुने सीमा बन्दको प्रभाव सबैभन्दा बढी भारतीय पर्यटकमा देखा पर्ने पोखराका पर्यटन व्यवसायी हरि भुजेल बताउँछन्। पोखराको लेकसाइडमा अवस्थित होटल आर्केडका सञ्चालकसमेत रहेका भुजेलका अनुसार पछिल्लो समय निजी सवारीसाधन लिएर सबैभन्दा बढी भारतीय पर्यटक पोखरालगायत क्षेत्रमा आउने गरेका थिए।
भारतीय पर्यटक आगमनले पोखरासहित मुस्ताङ गुल्जार भइरहेको बेला निर्वाचनले केही समय पर्यटक आगमन घट्ने आकलन गर्न थालिएको र त्यसको असर विस्तारै देखिन थालेको उनको भनाइ छ।
भारतीय पर्यटक पछिल्लो समय पोखरा, चितवनलगायत तराईका जिल्ला हुँदै पहाडी क्षेत्रमा समेत धेरै आउने गरेका थिए। तर, निर्वाचनको कारणले असुरक्षित महसुस गर्दै घुम्ने योजना बनाएका पर्यटक समेत अन्यत्र जाने स्थिति आउन थालेको व्यवसायीको भनाइ छ।
निर्वाचनसम्म कम्तीमा ७ दिन सार्वजनिक बिदा हुन्छ। सामान्य अवस्थामा बिदा हुँदा आन्तरिक पर्यटक पनि घुमघामका लागि निस्कने गरेका थिए। तर, यो पटक निर्वाचनको माहोल रहेको र असुरक्षा महसुस गर्दै घुम्न जान चाहेन पनि घरबाट निस्कने मुडमा नरहेको नानस होटल भैरहवाका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठको भनाइ छ।
‘हुन त मुलुकमा नयाँ सरकार गठनका लागि निर्वाचन हुँदै छ, यस्तो बेलामा दुःखेसो गर्न त नमिल्ने हो,’ सञ्चालक श्रेष्ठले भने, ‘बैंकले ब्याज र किस्तामा छुट नदिने र कर्मचारीलाई तलब पनि रोक्न नमिल्ने हुँदा चपेटामा व्यवसायी परिरहेका हुन्छौं।’