काठमाडौं। नेपालले चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पशुपन्छी क्षेत्रका उत्पादनको निर्यात १५ अर्ब रुपैयाँ नाघेको छ। यस क्षेत्रमा सबैभन्दा बढी ऊनको गलैँचा निर्यात भएको भन्सार विभागको तथ्यांक छ। ऊन तथा दाना पदार्थ मात्र करिब ५.९ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ।
साथै, छुर्पीको निर्यात पनि सात महिनामै अहिलेसम्मकै उच्च भएको छ। नेपालबाट हुने छुर्पी (कुकुरका लागि बनाइने चिज) निर्यात पछिल्लो समय उल्लेखनीय बढ्दै गएको देखिएको छ। चालू आर्थिक वर्षको माघ मसान्तसम्म सात महिनामै छुर्पी निर्यात करिब २.३ अर्ब रुपैयाँ पुगेको भन्सार तथ्यांकले देखाएको छ।
विगत चार-पाँच वर्षअघिसम्म वार्षिक करिब ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात हुने गरेकोमा पछिल्लो सात महिनामा सो बराबरको निर्यात नजिक पुग्नुले यसको अन्तर्राष्ट्रिय बजार विस्तार भइरहेको संकेत गरेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज कुमार शाहीले बताए।
उनका अनुसार नेपालले पशुजन्य रोग नियन्त्रणका लागि जोनिङ र कम्पार्टमेन्टलाइजेसन प्रणाली लागू गर्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीप्रति विश्वास बढ्दै गएको छ। ‘यस प्रणालीअन्तर्गत निश्चित क्षेत्रलाई रोगमुक्त क्षेत्र घोषणा गर्न सकिन्छ,’ उनले भने, ‘जसले गर्दा त्यहाँ उत्पादन भएको दुग्धजन्य वस्तु निर्यात गर्न सजिलो हुन्छ।’
हाल पूर्वी नेपालका जिल्लामा मुख्य रुपमा छुर्पी उत्पादन हुँदै आएको छ। तर गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका किसानले पनि यसको उत्पादन विस्तार गर्ने चासो देखाएका छन्। सरकारले आवश्यक वातावरण बनाएमा यी क्षेत्रबाट पनि निर्यात बढ्ने सम्भावना रहेको डा. शाहीको तर्क छ।
‘अहिलेसम्म नेपाली छुर्पी अमेरिकालगायत केही देशमा निर्यात भइरहेको छ,’ उनले भने, ‘तर चीन तथा केही युरोपेली देशले भने पशुजन्य रोग पूर्ण रुपमा नियन्त्रण भएको प्रमाण माग्ने भएकाले ती बजारमा निर्यात अझै सीमित छ।’
सरकारले रोगमुक्त क्षेत्र घोषणा गर्न सक्ने गरी पशु स्वास्थ्य निगरानी, खोप र परीक्षण प्रणाली सुदृढ गर्न सकेमा आगामी दिनमा नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजार अझै विस्तार हुने देखिएको डा. शाहीले बताए।
पशुपन्छी क्षेत्रका वस्तु निर्यात विवरणः
| वस्तु |
रकम |
| ऊनको गलैँचा |
६.४ अर्ब |
| ऊन |
३.४ अर्ब |
| दाना पदार्थ |
२.५ अर्ब |
| छुर्पी |
२.३ अर्ब |
| छाला |
२५ करोड |
| दुग्ध उत्पादन |
६.४ करोड |
| मह |
४.५ करोड |
| जिवित पशु |
३ करोड |
| मासु |
२.३ करोड |
| माछाजन्य पदार्थ |
१.४ करोड |
| छाला उत्पादन |
०.४ करोड |
स्रोतः भन्सार विभाग