काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ४४ हजार ९७ किलो धान खरिद गरेको छ। कम्पनीले कात्तिक १२ देखि फागुन ११ गतेसम्मको अवधिमा देशभरका विभिन्न ११ वटा केन्द्रमार्फत उक्त परिमाणमा धान खरिद गरेको हो।
कम्पनीले सबैभन्दा बढी कोटा तोकेको धनगढी, महेन्द्रनगर, नेपालगन्ज र राजापुर केन्द्रबाट लक्ष्यभन्दा बढी धान खरिद गरेको छ। धनगढीमा ३५ हजार क्विन्टल लक्ष्य रहेकोमा पछि कोटामा थप गरी ३८ हजार नौ सय ४८ क्विन्टल, महेन्द्रनगरमा पाँच हजार क्विन्टल कोटा रहेकोमा ६ हजार आठ सय ७६ क्विन्टल, नेपालगन्जमा मध्यम र मोटा गरी २० हजार क्विन्टल कोटा रहेकोमा २० हजार दुई सय ३४ क्विन्टल र राजापुरमा मोटा र मध्यम गरी ३० हजार क्विन्टल कोटा रहेकोमा ३० हजार दुई क्विन्टल धान खरिद भएको छ।
विराटनगर केन्द्रमा १३ हजार कोटा रहेकोमा १२ हजार आठ सय ९४ क्विन्टल, बिर्तामोडमा आठ हजार क्विन्टल कोटा रहेकोमा सात हजार नौ सय ४६ क्विन्टल र जनकपुरमा बासमती र सोना मन्सुली धान गरी १५ हजार क्विन्टल कोटा रहेकोमा ११ हजार ६६५ क्विन्टल धान खरिद भएको छ।
यस्तै, भैरहवामा पाँच हजार क्विन्टल कोटा रहेकोमा दुई हजार ४९ क्विन्टल, वीरगन्जमा १० हजार क्विन्टल कोटा रहेकोमा नौ हजार दुई सय ९७ क्विन्टल र लसीपुरमा पाँच हजार कोटा क्विन्टल रहेकोमा चार हजार १८३ क्विन्टल धान खरिद भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार लहान, जुम्ला र पोखरामा अझै धान खरिद प्रक्रिया सुरु हुन नसकेको जनाएको छ। कम्पनीले यस वर्ष धान खरिदका लागि १३ केन्द्र निर्धारण गरेको छ। कम्पनीले देशभरबाट कुल एक लाख ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ।
सरकारले यो वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ र मोटो धानको मूल्य तीन हजार ४६३ रुपैयाँ तोकेको छ।