काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू रवि लामिछाने भएकै कारण धेरै बोल्नुपरेको टिप्पणी गरेका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई चर्को र तिखो नबोल्न सुझाव आउने गरेको बताए।
‘मलाई धेरै नबोल, तिखो नबोल पनि भन्छन् । चर्को नबोल भन्छन्, मलाई गालीगलौज नगर पनि भन्छन्,’ उनले भने, ‘म परे रवि लामिछाने, अलिअलि नघोची हुँदैन ।’
उनले आफूलाई निरन्तर ‘घोच्ने’ प्रयास हुने दाबी गर्दै त्यसको जवाफ दिन बाध्य हुने बताए। ‘आफूलाई टुच्च टुच्च नघोचे म चुप लाग्थें,’ उनले भने, ‘तर ठाउँ–ठाउँबाट घोचिरहन्छन्, अनि दिइरहनुपर्छ।’
लामिछानेले आफूमाथि प्रमाण छ भनिएको ६५८ दिन भइसकेको उल्लेख गर्दै आरोप पुष्टि हुन नसकेको संकेत गरे। ‘चाहिएन प्रमाण, भइगो । मलाई अन्तिम इच्छा सोधिएको पनि थियो । मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपार्ईँहरूलाई थाहै होला,’ उनले भने, ‘मैले त्यसको जवाफ दिएको थिइनँ।’
उनले चितवनबाटै आफ्नो ‘अन्तिम इच्छा’ मतमार्फत देखाइदिन आग्रह गरे। ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो, २१ गते मतपत्रमा देखाइदिनुहोला,’ उनले समर्थकलाई सम्बोधन गर्दै भने।