काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले एक्लै देश बनाउँछु भनेर कुद्नेहरूले मुलुक बनाउन नसक्ने बताएका छन्। बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कुनै एक व्यक्ति आएर मुलुकमा चमत्कार नहुने स्पष्ट पारे। मुलुक बनाउनका लागि बलियो सिस्टम आवश्यक पर्ने भन्दै उनले व्यक्तिकेन्द्रित राजनीतिभन्दा संस्थागत सुधारमा जोड दिनुपर्ने बताए।
‘लोकतन्त्रमा कुनै पनि एक व्यक्ति रातारात देउता वा राक्षस हुन सक्दैन,’ थापाले भने, ‘मुलुक बनाउने टिमले हो र नेपाली कांग्रेस टिमसहित आएको छ।’
उनले प्रधानमन्त्री मात्र होइन, नेपाली कांग्रेस एक्लैले पनि देश बनाउन नसक्ने बताए। संविधान संशोधनजस्ता विषयमा व्यापक सहमति आवश्यक पर्ने उल्लेख गर्दै उनले कुनै एक दलको मात्रै प्रयासले पर्याप्त नहुने धारणा राखे।
‘सिस्टममा नचलेका कतिपय कुरालाई सिस्टममा चलाउन संविधान संशोधन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि नेपाली कांग्रेस वा अर्को कुनै एउटा मात्र दलले पुग्दैन, सबैको सहमति र सहकार्य आवश्यक पर्छ। म एक्लैले गर्छु, म मात्र राम्रो अरू सबै खराब भन्ने प्रवृत्तिले मुलुकलाई गम्भीर दुर्घटनामा लैजान्छ।’
थापाले मुलुकलाई सही गन्तव्यमा पुर्याउन स्पिड मात्र नभई स्पिरिट पनि आवश्यक हुने बताए। ‘हामी सुझबुझका साथ सबैलाई एउटै गाडीमा हालेर स्पिरिट र स्पिडमा मुलुकलाई गन्तव्यमा पुर्याउन चाहन्छौँ,’ उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा आगामी पाँच वर्ष मुलुकले गति पक्रिन्छ, अगाडि गुड्छ, कुद्छ।’
उनले बुटवललाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशका सबै जिल्लालाई समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए। पूर्वाधार विकास भए पनि मानिसलाई थेगेर राख्न नसकेको उल्लेख गर्दै आसपासका जिल्लामा रोजगारी र अवसर सिर्जना गर्ने योजनाको आवश्यकता रहेको बताए।
सामाजिक सञ्जाल र मोबाइलमार्फत फैलिने उत्तेजनात्मक राजनीतिबाट सावधान रहन आग्रह गर्दै उनले मतदातालाई संयमता अपनाउन अपिल गरे। शुक्रबार बिहान सर्लाहीबाट हेलिकप्टरमार्फत बुटवल आएका थापाले सोही दिन लुम्बिनी, कपिलवस्तुको गोरुसिङ्गे, पर्वत र कास्कीमा आयोजित सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।