काठमाडौं। कैलाली क्षेत्र १ का उम्मेद्वार रामलाल डगौरा थारूले टिकापुर-भजनी क्षेत्रका स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कृषि विकास, रोजगारी सिर्जना, सुकुम्बासी समस्या समाधान र पर्यटन प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाइएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार थारूले कृषि, रोजगारी, पूर्वाधार विकास तथा थारु समुदायको पहिचान संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएका हुन्।
नेपालको संविधान तथा नीतिगत व्यवस्थाहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक सुधारमा आफूले कार्य गर्ने तर्क राखेका छन्। कानुनी सुधारमार्फत थारू सामुदाय जातिय पहिचान, किसानको मलको समस्या, युवा रोजगारी लगायत समस्या समधान गर्ने बताएका छन्। प्रशासनिक प्रक्रियालाई सहज बनाउँदै स्थानीय स्तरमा प्रभावकारी नीति लागू गर्नुपर्ने उनको धारणा छ।
कृषि प्रधान मुलुकमा किसानलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ। मल, बीउ र उत्पादन व्यवस्थापन सुधार गर्दै किसानले उत्पादन गरेको अन्नबाली सरकारले उचित मूल्यमा खरिद गर्ने व्यवस्थामा गर्नु नीतिगत सुधार गर्ने बताए।
‘कतिपय नीति बनेका छन्, तर कार्यान्वयनको पक्षमा समस्या छन्,’ उनले भने, ‘जस्तै सार्वजनिक खरिद नियमावली तथा ब्युरोक्रेसीका कारण व्यवहारिक समस्या देखिन्छ। त्यसलाई सुधार गरेर जनताको समस्याका आधारमा व्यवहारिक नीति बनाउनुपर्छ।’
यसैगरी, यस क्षेत्रका सुकुम्बासी समस्या समाधानका लागि विशेष नीति आवश्यक रहेको उनले उल्लेख गरे। प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै कर्णाली, पथरिया, काँडा र मोहना नदी आसपासका क्षेत्रलाई पर्यटन, धार्मिक तथा पर्यावरणीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि उनले अघि सारेको बताए।
‘यहाँको प्राकृतिक सम्पदा हो। कर्णाली नदी, पथरिया नदी, काडा नदी, मोहना नदी लगायतका नदी क्षेत्र यहाँका प्राकृतिक सम्पदा हुन्,’ उनले भने, ‘यी सम्पदालाई कोरिडोरको रूपमा विकास गरी पर्यटन, वातावरण तथा धार्मिक गन्तव्य स्थल बनाउन सकिन्छ।’
यसका साथै, रोजगारी सिर्जना अर्को प्रमुख प्राथमिकता भएको उनले बताए। युवाहरू सानो उमेरमै वैदेशिक रोजगारीतर्फ जान बाध्य हुने अवस्थालाई रोक्न स्थानीय स्तरमै स्व-रोजगार र उद्यमशीलता विकासका कार्यक्रम ल्याइने उनको भनाइ छ। यस्तै, थारु समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणलाई पनि उनले जोड दिएका छन्।
विभिन्न जाति, भाषा र संस्कृतिलाई राज्यको सम्पत्तिका रूपमा संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको उनले बताए। पूर्वाधार विकासतर्फ सडक, पुल, बजार र स्वास्थ्य संरचनामा सुधार गर्ने योजना अघि सारेका छन्। ‘टीकापुरदेखि जोशीपुर सडकलाई चार लेनमा विस्तार गर्ने, विभिन्न बजार क्षेत्रलाई व्यवस्थित गर्नु पर्छ,’ उनले भने, ‘जोशीपुर क्षेत्रमा आधुनिक अस्पताल स्थापना गर्नुपर्छ।’
यस्तै, थारु समुदायको इतिहास र संस्कृतिलाई संरक्षण गर्न संग्रहालय निर्माण गर्ने तथा कर्णाली नदी क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना पनि रहेको उनको भनाइ छ। ‘यस क्षेत्रका विभिन्न जाति, भाषा, संस्कार र संस्कृतिलाई राज्यको सम्पत्तिको रूपमा ग्रहण गर्दै पहिचान स्थापित गर्नुपर्छ,’ उनले भने।
यसअघिको चुनावमा कैलाली १ बाट रञ्जिता श्रेष्ठले जितेकी थिइन्। त्यसबेला उनी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष थिइन्। यस पटक श्रेष्ठले चुनाव नलाड्ने भएपछि नागरिक उन्मुक्ति पार्टीकै थारूलाई नेकपाबाट उम्मेद्वार बनेका हुन्। थारू नागरिक उन्मुक्ति पार्टीबाट २०७९ मा टीकापुर नगरपालिकाका मेयर निर्वाचित भएका थिए।