काठमाडौं। चिनियाँ अटोमोबाइल ब्रान्ड बीवाईडीले अष्ट्रेलियामा एक लाख गाडी बिक्री गरेको छ। कम्पनीले अष्ट्रेलियाली बजारमा पाइला टेकेको साढे ३ वर्षमै यो उपलब्धि हात पार्न सफल भएको हो।
अष्ट्रेलियामा सन् २०२२ को नोभेम्बरमा औपचारिक रूपमा सार्वजनिक भएको यो ब्रान्डले छोटो समयमै असाधारण कीर्तिमान राखेको हो। गत महिना मात्रै बीवाईडीले ७ हजार २१७ युनिट गाडी बिक्री गर्दै अष्ट्रेलियाको समग्र बजारमा तेस्रो स्थान ओगट्न सफल भयो। यस क्रममा बीवाईडीले माज्दा, फोर्ड र जीडब्लूएम, एमजी, चेरीलाई समेत पछि पारेको छ।
सन् २०२५ मा बीवाईडी अष्ट्रेलियाको नयाँ गाडी बिक्री सूचीमा ५२ हजार ४१५ युनिट बिक्रीसहित आठौँ स्थानमा पुगेको थियो। जुन २०२४ को तुलनामा १५६.२ प्रतिशतले बढी हो। बीवाईडी सार्क ६ पिकअप (प्लग-इन हाइब्रिड) र सिलायन ७ इलेक्ट्रिक एसयूभी जस्ता मोडलले यसको बिक्री वृद्धिमा ठूलो योगदान दिएका छन्।
मध्यपूर्वमा भएको युद्धका कारण इन्धन आपूर्तिमा संकट उत्पन्न भएपछि इलेक्ट्रिक सवारीको माग बढेको छ। यसकै कारण बीवाईडीले मे र जुन महिनामा मात्रै ३० हजार युनिट गाडी अष्ट्रेलिया पठाउने तयारी गरेको छ। तेस्रो त्रैमासिकमा थप उत्पादन बढाउने योजना बनाएको छ।
बीवाईडीको पोर्टफोलियोमा हाल १३ वटा मोडेलहरू पुग्ने तयारी छ। एट्टो ३, बाट सुरु भएको यात्रामा अहिले शार्क ६, डल्फिन, सिल र सिलियन सिरिजका थुप्रै मोडेलहरू थपिएका छन्। सन् २०२६ को पहिलो तीन महिनामा १७ हजार ५४१ युनिट गाडी बिक्री गरिसकेको बीवाईडीले यस वर्षको अन्त्यसम्म ७० हजार युनिट गाडी बिक्री गर्ने लक्ष्य राखेको छ।