लन्डन। अमेरिका र इजरायलले शनिबार इरानको नेतृत्वलाई लक्षित गर्दै आक्रमण गरेपछि मध्यपूर्व फेरि एक पटक गम्भीर द्वन्द्वतर्फ धकेलिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कदमले सुरक्षा खतरा अन्त्य गर्ने र इरानीहरूलाई आफ्ना शासकविरुद्ध उभिन अवसर दिने बताएका छन्। तर, घटनाक्रमले क्षेत्रीय स्थायित्व मात्र होइन, विश्व अर्थतन्त्रलाई समेत गहिरो असर पार्ने संकेत देखिएको छ।
आक्रमणपछि इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेर तत्काल जवाफी कारबाही गरेको छ। द्वन्द्व चर्किने त्रासले खाडी क्षेत्रका तेल उत्पादक राष्ट्रहरू सतर्क बनेका छन्। विश्व ऊर्जा आपूर्तिको प्रमुख केन्द्र मानिने यस क्षेत्रको अस्थिरताले कच्चा तेलको मूल्यमा प्रत्यक्ष असर पार्न थालेको छ।
कच्चा तेलमा उछालको संकेत
मध्यपूर्वी तनाव मापन गर्ने सबैभन्दा ठूलो सूचक कच्चा तेलको मूल्य हो। इरान प्रमुख तेल उत्पादक राष्ट्र हो। यसको भौगोलिक अवस्थिति स्ट्रेट अफ होर्मुज नजिकै पर्छ। विश्वभर आपूर्ति हुने करिब २० प्रतिशत तेल यही जलडमरुमध्ये हुँदै जान्छ। यहाँ अवरोध उत्पन्न भएमा विश्व बजारमा तत्काल मूल्य उकालो लाग्ने सम्भावना रहन्छ।
शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल करिब ७३ अमेरिकी डलरमा कारोबार भएको थियो। यस वर्ष मात्र यसमा करिब २० प्रतिशत वृद्धि भइसकेको छ। बजार विश्लेषकका अनुसार द्वन्द्व सीमित अवधिमा नियन्त्रणमा आए पनि मूल्य ८० डलरसम्म पुग्न सक्छ। यदि द्वन्द्व लम्बियो र आपूर्ति अवरुद्ध भयो भने तेलको मूल्य १०० डलरसम्म पुग्ने चेतावनी दिइएको छ।
ऊर्जा बजारमा यस्तो उछाल आएमा विश्वव्यापी मुद्रास्फीतिमा थप दबाब पर्न सक्छ। विश्लेषणअनुसार तेल १०० डलर नाघेमा विश्व मुद्रास्फीतिमा ०.६ देखि ०.७ प्रतिशत विन्दुसम्म थप वृद्धि हुन सक्छ। यसले विकसित र विकासशील दुवै अर्थतन्त्रलाई असर पार्नेछ।
सेयर र मुद्रा बजारमा अस्थिरता
विश्व बजार यसअघि नै व्यापार नीतिगत अनिश्चितता र प्रविधि कम्पनीका सेयर बिक्रीका कारण उतारचढावमा थियो। नयाँ द्वन्द्वले जोखिमप्रति लगानीकर्ताको चिन्ता बढाएको छ। अस्थिरताको सूचक भीआईएक्स भोलाटिलिटी इन्डेक्स यस वर्ष उल्लेखनीय रुपमा बढेको छ भने अमेरिकी सरकारी बन्डको मूल्यमा समेत उतारचढाव देखिएको छ।
मुद्रा बजारमा पनि प्रभाव पर्ने अनुमान गरिएको छ। अघिल्लो क्षेत्रीय द्वन्द्वका क्रममा अमेरिकी डलर इन्डेक्स करिब १ प्रतिशतले घटेको थियो, तर त्यो गिरावट अल्पकालीन सावित भएको थियो। विश्लेषकहरूका अनुसार यसपटक द्वन्द्वको अवधि र तीव्रताले नै डलरको दिशा निर्धारण गर्नेछ।
अमेरिका ऊर्जा निर्यातकर्ता भएकाले तेल मूल्य वृद्धि हुँदा डलर सापेक्ष बलियो हुन सक्ने अनुमान गरिएको छ। जापानी येन र स्विस फ्र्याङ्कजस्ता सुरक्षित मुद्राबाहेक अन्य धेरै मुद्राहरू डलरको तुलनामा कमजोर हुन सक्ने देखिन्छ।
इजरायली मुद्रामा पनि उतारचढाव आउने संकेत छ। अघिल्ला द्वन्द्वका प्रारम्भिक दिनहरूमा यसको मूल्य ५ प्रतिशतसम्म घटेको थियो। यद्यपि विगतका अधिकांश गिरावट अस्थायी थिए। बजार केही दिनमै स्थिर भएको थियो। तर जोखिम प्रिमियम लामो समय कायम रहे यस पटक प्रभाव गहिरो हुन सक्ने विश्लेषण गरिएको छ।
सुरक्षित लगानीतर्फ आकर्षण
संकटको समयमा लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षित हुन्छन्। स्विस फ्र्याङ्क यस वर्ष अमेरिकी डलरको तुलनामा करिब ३ प्रतिशतले बलियो भइसकेको छ। सुनले सन् २०२६ को सुरुवातदेखि नै उल्लेखनीय वृद्धि गरेको छ र यस वर्ष मात्र २२ प्रतिशतले उकालो लागेको छ। चाँदीमा समेत लगानी बढ्ने संकेत देखिएको छ।
अमेरिकी ट्रेजरी बन्डको माग बढ्न सक्ने अनुमान गरिएको छ, जसले प्रतिफल घटाउने छ। यसको अपवाद भने क्रिप्टो बजार बनेको छ। बिटक्वाइनको मूल्य शनिबार २ प्रतिशतले घटेको छ र पछिल्लो दुई महिनामा यसले आफ्नो मूल्यको एक चौथाइभन्दा बढी हिस्सा गुमाइसकेको छ।
खाडी राष्ट्रका बजारमा दबाब
साउदी अरब र कतारसहित खाडी राष्ट्रका सेयर बजारहरूमा आगामी कारोबारले लगानीकर्ताको मनोबल कस्तो छ भन्ने प्रारम्भिक संकेत दिनेछ। यद्यपि तेल मूल्य वृद्धिले ऊर्जा कम्पनीलाई फाइदा पुर्याउन सक्छ, तर दीर्घकालीन द्वन्द्वले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ।
विश्लेषकका अनुसार द्वन्द्व महिनौँसम्म जारी रहे खाडी क्षेत्रका प्रमुख सूचकहरू ३ देखि ५ प्रतिशतसम्म घट्न सक्छन्। हालैका दिनहरूमा साउदी अरबको प्रमुख सूचक लगातार दोस्रो सातासम्म गिरावटमा रहेको छ। दुबईको मुख्य बजार पनि पछिल्लो दुई सातामा कमजोर देखिएको छ।
उड्डयन र रक्षा उद्योगमा प्रभाव
विश्वभरका एयरलाइन्सहरूले मध्यपूर्व हुँदै हुने उडानहरू रद्द गर्न थालेका छन्। यदि हवाई क्षेत्र थप बन्द गरियो भने एयरलाइन्स कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पर्न सक्छ। अर्कोतर्फ, रक्षा उद्योगसँग सम्बन्धित कम्पनीहरूको सेयरमा माग बढ्ने सम्भावना देखिएको छ। युरोपेली हतियार उत्पादक कम्पनीको सेयर यस वर्ष उल्लेखनीय रुपमा बढिसकेको छ र थप वृद्धि हुने अनुमान गरिएको छ।