काठमाडौं। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि देशभर दुई लाख १३ हजार कर्मचारी खटिएका छन्। निर्वाचन आयोगले आगामी २१ गते १६५ निर्वाचन क्षेत्रमा २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा निर्वाचन सम्पन्न गर्न कर्मचारी खटिएको हो।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले निर्वाचन तयारी पूरा भएको जानकारी दिँदै दुर्गम क्षेत्रका मतदान केन्द्रमा केही दिन पहिले र नजिकैका निर्वाचन क्षेत्रमा समेत कर्मचारी पुगिसकेको बताए। सबै निर्वाचन क्षेत्रमा आ-आफ्नो जिम्मेवारीसहित कर्मचारीहरु खटिसकेको उनको भनाइ थियो।
मतदान अधिकृतहरू सम्बन्धित मतदान केन्द्र र स्थलमा पुगिसकेको बताए। मतदान प्रक्रियाका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पनि सम्बन्धित स्थानमा पुर्याइसकिएको सूचना अधिकारी घिमिरेले स्पष्ट पारे।
निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुन (सोमबार) सम्मका लागि निर्वाचन प्रचार प्रसारको समय निर्धारण गरेको थियो। आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ। यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ।
आयोगले मतदातालाई निर्धक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न आग्रह गर्दै सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र सहयोगका लागि निर्देशन दिएको छ।
निर्वाचनमा खटिने कर्मचारीलाई कस्तो छ सुविधा?
निर्वाचनमा खटिएका कर्मचारीलाई आयोगले भत्तादेखि बिमासम्मका सुविधा उपलब्ध गराउने जनाएको छ। निर्वाचन आयोग, आयोगमातहतका ७७ कार्यालय र १६५ निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीका लागि सुरु तलब स्केलको शतप्रतिशतसम्म निर्वाचन सुविधाको व्यवस्था गरेको छ।
अतिरिक्त समयमा काम गरेकोमा खाजा खाना खर्चसहितको सुविधा ती कर्मचारीका लागि हुन्छ। मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीलाई दैनिक भत्ताको समेत व्यवस्था छ।
मतदान अधिकृतलाई दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई दुई हजार, सहायक कर्मचारीलाई एक हजार ६ सय तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही एक हजार दुई सय रुपैयाँ दैनिक भत्ताको व्यवस्था छ।
निर्वाचनमा खटिने सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँको बिमासमेत गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनको चालू खर्चमा सम्बन्धित ४८ वटा काम भइरहेका छन्।
यिनका लागि ६ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ। कर्मचारी सुविधाबारे प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ ले व्यवस्था गरेको छ।
निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। देशवासीको नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय रुपमा सहभागी भई मतदान गर्न अपिल गरेकी हुन्।
देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको उनले बताइन्। उनले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बतएकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन, कृत्रिम र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई कडा निगरानीमा राखेको चेतावनी दिइन्। मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने र कानुन बमोजिम कडा कारबाही गर्न पछि नहट्ने उनको चेतावनी छ।