काठमाडौं। नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका सदस्यहरुलाई सोमबार बोर्डमा स्वागत गरिएको हो।
योसँगै बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्ड स्थापनाको उद्देश्य, नीति तथा कार्यक्रम तथा हालसम्मका प्रमुख उपलब्धिबारे विस्तृत जानकारी गराएका छन्। स्वागत कार्यक्रममा बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँदै पर्यटन प्रवर्द्धनलाई परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
कार्यक्रममा निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डले गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमहरु, बोर्डको संरचना, अवसर र चुनौतीबारे समेत नवनियुक्त सदस्यहरुलाई जानकारी गराएका हुन्। उनले नेपाल आरोग्य वर्ष २०२७ लाई सफल बनाउन बोर्डले काम गरिरहेको विषयमा पनि जानकारी गराएका हुन्।
नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सबै पक्षसँग सहकार्य गर्दै नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको पर्यटनमा निजी क्षेत्र महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै हाल देखिएका अवरोध हटाएर समस्या समाधान गर्दै उपलब्ध स्रोत-साधनको प्रभावकारी परिचालनमा विशेष जोड दिए।
त्यसैगरी बोर्ड सदस्य सिर्जना केसीले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले तथ्यमा आधारित नीति निर्माणका लागि अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
बोर्ड सदस्य सहदेव धमलाले निजी क्षेत्रका समस्या समाधानमा बोर्डले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षको बजेट तीन ‘पी’ अर्थात् पर्यटन क्षेत्रको संरक्षण (प्रोटेक्सन), संवर्द्धन (प्रिजर्भेसन) र प्रवर्द्धन (प्रमोसन)मा केन्द्रित हुनुपर्ने धारणा राखे।
त्यसैगरी बोर्ड सदस्य पेम्बा शेर्पाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका प्राथमिकताका कार्यक्रमलाई निरन्तरता दिने बताए। उनले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
बोर्ड सदस्य डा. सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तर, अनुसन्धान र सुशासनलाई केन्द्रमा राखेर नीति तर्जुमा गर्दै प्रभावकारी व्यवस्थापन र सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेकी छन्। उनले पर्यटनको गुणस्तर अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बनाउन बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखिन्।
स्वागत कार्यक्रमका क्रममा बोर्डका पदाधिकारी र नवनियुक्त बोर्ड सदस्यहरूको सक्रिय सहभागिता र निजी क्षेत्रसँगको सहकार्यमार्फत नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।