तनहुँ–१ मा मतगणना सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँको क्षेत्र १ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आज बिहान १ः३० बजेदेखि मतगणना सुरु भएको हो।
देवघाट गाउँपालिका–५ स्थित वज्रयोगिनी मतदान केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिनुभयो । तनहुँ निर्वाचन क्षेत्र १ मा एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको छ। यो निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
भक्तपुरमा दुवै क्षेत्रमा मध्यरातिदेखि मतगणना सुरु
प्रतिनिधिसभा सदस्यको लागि बिहीबार सम्पन्न निर्वाचनअन्तर्गत भक्तपुरको क्षेत्र १ र २ गरी दुवै क्षेत्रको मतगणना मध्यरातिदेखि सुरु भएको छ।
भक्तपुर क्षेत्र १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राति १२ः३० बजेदेखि मतगणना सुरु भएको हो। भक्तपुर क्षेत्र १ मा कुल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७८ हजार २७२ मत अर्थात् ७३.११ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए।
त्यस्तै, भक्तपुर क्षेत्र १ मा आज राति १ बजेदेखि मतगणना सुरु भएको हो। मध्यपुरथिमि नगरपालिका सिन्टीटारस्थित कृषि विकास बैंकको तालिम हलमा भएका मतगणना राती १ः०० बजे सुरु भएको हो।
निर्वाचन क्षेत्र २ मा कुल ९८ हजार ३५६ मतदाता रहेकामा ७१ हजार ९९६ मत अर्थात् ७१.४६ प्रतिशत मत खसेको बिसीले जानकारी दिए।
कञ्चनपुर–२ मा मतगणना सुरु
कञ्चनपुर निर्वाचन क्षेत्र २ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।
शुक्लाफाँटा नगरपालिका–१० को सभाहलमा मतगणना सुरु भएको हो। तीनवटा क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र १ र ३ मा पनि १ः१५ बजेबाट मतगणना सुरु गर्ने तयारी छ।
बाँके–२ को मतगणना सुरु
बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ। केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु भएको हो।
सो निर्वाचन क्षेत्रका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार बाँके डुडुवा गाउँपालिका–१ बाट मतगणना सुरु भएको छ।
झापा ५ मा मतगणना सुरु
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरबाट सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र ५ मा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार शुक्रबार बिहान २ बजेदेखि मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
यस क्षेत्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
कास्कीका तीनवटै क्षेत्रमा मतगणना जारी, रास्वपा अगाडि
कास्कीका तीनवटै निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुआती अग्रता लिएका छन्।
हालसम्मको मतगणनाअनुसार कास्की–१ मा रास्वपा उम्मेदवार गनेश पौडेलले ८६६ मत पाएर अग्रता लिएका छन् भने कांग्रेसका तिलक रानाभाट ४७५ मत पाएर दोस्रो स्थानमा छन्। एमालेका बैनबहादुर अधिकारी क्षेत्री ३०७ मत पाएर तेस्रो स्थानमा छन्।
कास्की–२ मा रास्वपाका उत्तम पौडेलले १ हजार ११७ मत पाएर अग्रता लिएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेका रश्मी आचार्य ७३३ मत पाएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका माधव बास्तोला ३२२ मत पाएर तेस्रो स्थानमा छन्।
कास्की–३ मा रास्वपाकी बिना गुरुङले ४८२ मत पाएर अग्रता लिएकी छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका मनोज गुरुङले २८० मत पाएका छन् भने एमालेका दामोदर पौडेल बैरागी ले ११९ मत पाएर तेस्रो स्थानमा छन्।