काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत गणना आउने क्रम जारी छ। १६५ निर्वाचन क्षेत्रमा बिहीबार भएको मतदानपछिको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश उम्मेदवार अगाडि रहेका छन्।
संघीय राजधानी रहेको काठमाडौंसहित ललितपुर नेपाल मजदुर किसान पार्टीका गढ मानिने भक्तपुर १ मा समेत रास्वपाका उम्मेदवारले लिड गरेका छन्।
काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटामा रास्वपाले अग्रता लिएको छ। काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २÷२ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिएका हुन्।
काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनील केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन्।
यसैगरी ललितपुर २ मा जगदीश खरेल र ३ मा तोसिमा कार्कीले अग्रता लिएका छन्। ललितपुर क्षेत्र १ मा कांग्रेसका उदयशमशेर राणाले अग्रता लिएका छन्।
भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि छन्। नेमकिपाको गढ मानिने क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रञ्जित अगाडि छन्। नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन्। यसैगरी भक्तपुर क्षेत्र २ मा राजीव खत्रीले अग्रता लिँदा एमाले उम्मेदवार महेश बस्नेत पछि परेका छन्।