काठमाडौं। प्रतिनिधिसभामा प्रत्यक्षतर्फको १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि आज सकिँदै छ। गोरखा १ र इलाम क्षेत्र १ को समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगको निर्वाचन आयोगको पछिल्लो विवरणले देखाएको छ।
प्रत्यक्ष र समानुपतिकतर्फको मतगणना सकिएपछि सम्भवतः निर्वाचन आयोगले सबै विवरणसहित राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष साता दिनभित्रै विवरण पेस गर्नेछ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटमा जितिसकेको छ भने हालसम्म समानुपातिकमा पनि ५१ लाख बढी (करिब ४७.८३ प्रतिशत) मत पाइसकेको छ।
सरकार गठनको लागि १३८ सदस्य आवश्यक पर्छ। रास्वपाले समानुपातिकतर्फको गणनामा पाएको मतअनुसार ५७ सिट जित्ने आकलन गरिएको छ। यो भनेको दुई तिहाइ नजिकको अंक हो। दुई तिहाइका लागि १८४ सिट जित्नुपर्छ। रास्वपाले यसअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पार्टीभित्र किचलो नभए बालेनले नयाँ सरकारको नेतृत्व लिनेछन्।
निर्वाचन आयोग फागुन २१ को भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम चैत ५ गतेसम्म सार्वजनिक गर्ने र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा छ। आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया आरम्भ हुने कानुनी र संवैधानिक प्रक्रिया छ। संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ।
रास्वपासँग एकल सरकार गठन गर्ने बहुमत हुँदा संविधानको धारा ७६ (१)को सरकार गठन हुनेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक पुग्ने देखिएको छ ।
आयोगले राष्ट्रपतिलाई मत परिणाम बुझाएपछि रास्वपा संसदीय दलको बैठक बस्नेछ। दलको बैठकले दल नेता चयन गर्नेछ। राष्ट्रपतिलाई दलको नेता चयन भएको जानकारी गराउनुपर्नेछ। त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्।
संविधानतः शपथ नगरी सांसद भन्न नमिल्ने तर्क हुँदै आएको छ। प्रतिनिधिसभाको सदस्य नै प्रधानमन्त्री बन्ने व्यवस्था छ। शपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने जिकिर गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेसहितले २०७४ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जतिबेला शपथबिनै केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीलाई कारण देखाउ आदेश मात्र जारी गरेको थियो। ओलीलाई प्रधानमन्त्रीमा रोक लगाउन माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गर्दै २०७८ जेठ ८ मा सर्वोच्चबाट लिखित जवाफ मात्र मगाउने आदेश भएको थियो।
रिट निवेदकले प्रधानमन्त्रीले पुनः प्रधानमन्त्रीको शपथ लिनुपर्ने र नलिँदासम्म प्रधानमन्त्रीको सरकार प्रमुखको कामकाज गर्न रोक लगाउन भन्दै भएको माग अस्वीकार भएपछि ओलीले पुनः शपथ लिएका थिए। अतः बालेनले पनि पहिले सांसदको शपथ लिएर मात्रै प्रधानमन्त्री नियुक्ति हुनुपर्नेछ।
हाल प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १२५ रास्वपा, नेपाली कांग्रेसले १८ र एमालेले ९ सिट जितेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा ८ सिट जितेको छ। नयाँ दलका रुपमा श्रम संस्कृति पार्टी उदाएको छ। प्रत्यक्षमा ३ उमेदवारले संसदीय यात्रा तय गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट मात्रै जितेको छ। म्याग्दीबाट महावीर पुन स्वतन्त्र सांसद बनेका छन्।
मत गणना सकिएपछि आयोगले समानुपातिकतर्फ दलले पाउने सिट बाँडफाँड गर्नेछ। समानुपातिकतर्फ सिट ल्याउन थ्रेस होल्ड कटाउनुपर्छ। अर्थात् सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकतर्फ सिट पाउनेछन्।