काठमाडौं। बुध्द एयरले जहाजको पूर्ण क्षमता सञ्चालनपछि कल साइन नाइनएन एजेजिराे रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ। एटीआर–७२ जहाजको अधिक्तम उडान क्षमता ७२,००० साईकल हो। ‘साईकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ।
यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो। यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो। १६ वर्षे उडान अवधिभर यो जहाजले २४ लाख ८२ हजार ७ सय ७२ यात्रु बोकेको थियो।
बिदाइ क्षण भावुक हुँदै बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने, ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो। यसले बुध्द एयरको बजार बिस्तार तथा शाख बढाउन दुवैमा ठूलो महत्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका जनरल म्यानेजर टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक विदाई गर्न सम्भव भएको बताए।
एटीआर कम्पनीका सिनियर भाईस प्रेसिडेन्डेट स्टेफानो माराज्जनीले बुध्द एयरसँगको साझेदारीप्रति खुसी व्यक्त गर्दै भने, ‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमानयोग्य हात एवं सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रुपमा सेवा दिन सक्षम भयो । यसले बुध्द एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।’
यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो। बुध्द एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ।