इजरायल र अमेरिकाले आक्रमण गरेपछि प्रत्याक्रमणमा उत्रिएको इरानले अमेरिकी सैनिक बेसक्याम्प रहेका छिमेकी मुलुक र तिनका इन्धन भण्डारलाई निशाना बनाएसँगै विश्वव्यापी आपूर्ति शृंखलामा अवरोध देखिएको छ। मध्यपूर्वमा चर्किएको भू–राजनीतिक तनावले ८० प्रतिशत भारत आयात निर्भर नेपालको भान्सा पनि प्रभावित बनेको छ।
पछिल्लो डेढ महिना खाना पकाउने एलपी ग्यास अभाव भइरहेको छ भने पेट्रोलपम्पमा लाइन लाग्नेको संख्या क्रमशः बाक्लिँदो छ। नेपालमा प्रयोग हुने इन्धनमध्ये घरायसी, यातायात र औद्योगिक क्षेत्रमा पेट्रोलियमको खपत बढी हुने गरेको छ। इन्धनको विकल्पमा विद्युत् तथा अन्य वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्ने आवश्यकता देखिएको छ।

नेपालमा सबैभन्दा धेरै प्रयोग हुने इन्धनमध्ये पहिलोमा खाना पकाउने एलपी ग्यास हो। दोस्रोमा पेट्रोल र डिजेल मुख्य रूपमा सवारी साधनका लागि प्रयोग हुन्छ भने तेस्रोमा डिजेल उद्योगमा प्रयोग हुँदै आएको वातावरणविद् भूषण तुलाधार बताउँछन्।
नेपालमा घरायसी प्रयोगका लागि एलपी ग्यासको ठूलो अभाव हाल नदेखिए पनि माग बढ्दै गएको अवस्था छ। नेपालमा भारतबाटै ग्यास आयात हुने हुँदा उसले आफ्नै आन्तरिक मागलाई प्राथमिकता दिने घोषणा गरेकाले नेपालमा आपूर्ति प्रभावित हुन सक्ने तुलाधारको भनाइ छन्। त्यसैले विकल्पका रूपमा सुधारिएका चुलो तथा विद्युतीय इन्डक्सन चुल्हो प्रयोगलाई प्रवर्द्धन गर्न सकिने तुलाधारको सुझाव छ।
उनका अनुसार बजारमा यस्ता उपकरण उपलब्ध भए पनि यसको प्रयोग अझै व्यापक बन्न सकेको छैन। अहिलेको परिस्थितिलाई अवसरका रूपमा लिएर देशभरि नै बढाउने अभियान सञ्चालन गर्न सकिन्छ। यद्यपि यसमा केही चुनौती देखिन्छन्। विद्युत् आपूर्ति नियमित नहुनु यसको मुख्य समस्या रहेको तुलाधार बताउँछन्।
‘बेलाबेला विद्युत् जाने समस्या भएकाले तत्कालै एलपी ग्यास पूर्ण रूपमा छोड्न सम्भव हुँदैन,’ उनले भने, ‘तर ग्याससँगै इन्डक्सन चुह्लो प्रयोग गर्न सके ग्यासको खपत घटाउन सकिन्छ। यसो गर्दा एक महिनामा सकिने ग्यासको सिलिन्डर दुईदेखि तीन महिनासम्म चल्न सक्छ।’
मध्यपूर्वमा चर्किएको भू–राजनीतिक तनावले ८० प्रतिशत भारत आयात निर्भर नेपालको भान्सा पनि प्रभावित बनेको छ। पछिल्लो डेढ महिना खाना पकाउने एलपी ग्यास अभाव भइरहेको छ भने पेट्रोलपम्पमा लाइन लाग्नेको संख्या क्रमशः बाक्लिँदो छ।
पेट्रोल र डिजेल मुख्य रूपमा यातायात क्षेत्रमा प्रयोग हुन्छन्। पछिल्लो समय डिजेलबाट चल्ने साना माइक्रोबस विस्तारै विद्युतीय सवारी साधनतर्फ रूपान्तरण हुन थालेका छन् भने पेट्रोल गाडी पनि क्रमशः प्रतिस्थापन हुने क्रममा रहेको तुलाधार बताउँछन्। ‘ठूला ट्रक तथा बसमा भने अझै विद्युतीय विकल्प व्यापक रूपमा विस्तार हुन सकेको छैन,’ उनले भने, ‘सरकारले उचित नीति ल्याएर प्रवर्द्धन गरे भविष्यमा यस्तो सम्भव हुन्छ।’
अमेरिका, इजरायल र इरानबीचको तनाव लम्बिँदै जाँदा तेलको मूल्य थप महँगिएको छ। यसले नेपालजस्ता विकासोन्मुख देशकाे अर्थतन्त्रमा बहुआयामिक दबाब सिर्जना गर्न सक्ने सरकोकारवाला बताउँछन्। तेल महँगिँदा ढुवानी खर्च बढ्ने, उद्योग उत्पादन महँगो हुने, बजारमा महँगी चर्किने र विदेशी मुद्रा सञ्चितिमा समेत दबाब पर्ने जोखिम देखिएको छ।
उद्योग क्षेत्रमा प्रयोग हुने डिजेलको विकल्प पनि खोज्न सकिने तुलाधरको भनाइ छ। ‘वायो–पेललेट कृषिजन्य अवशेष तथा वनबाट प्राप्त हुने जैविक पदार्थबाट उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘नेपालमै यसको उत्पादन सुरु भइसकेको छ। यदि सरकारले यस्ता उद्योगलाई प्रवर्द्धन गर्ने, बजार विस्तारमा सहयोग गर्ने र केही अनुदान उपलब्ध गराउने हो भने यसले देशको आफ्नै स्रोत–साधन उपयोग बढाउने तथा बाह्य ऊर्जा स्रोतको आयात घटाउन सहयोग पुग्छ।’
नेपालमा पछिल्लो समय विद्युत खपत बढ्दो क्रममा छ। यससँगै सरकारले वार्षिक रुपमा करिब १० प्रतिशत खपत बढ्ने अनुमानका आधार सोही आधारमा विद्युत् उत्पादन, वितरणलगायत विषयको तयारी गर्दै आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिमा कुनै समस्या नरेहको जनाएको छ। अहिलेको लोड जाडो महिनाको पिक लोडभन्दा करिब १ सय ५० मेगावाट कम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार हाल कामाडौं उपत्यकाको करिब ४ सय मेगावाटदेखि साढे ४ सय मेगावाटसम्म लोड आइरहेको छ। ‘जाडो महिनामा भने ६ सय मेगावाटसम्म विद्युत् उपलब्ध गराइएको थियो,’ उनले भने, ‘अहिलेको अवस्थामा ६ सय मेगावाटसम्म दिन सक्ने क्षमता हामीसँग छ।’
खाना पकाउने समय बिहान र बेलुका करिब डेढ–डेढ घन्टा लोड केही बढ्ने भए पनि त्यसलाई व्यवस्थापन गर्न प्राधिकरणको नेटवर्क सक्षम रहेको शाक्यले बताए। तराई क्षेत्रमा भने गर्मी बढेसँगै वैशाखपछि विस्तारै विद्युत् माग बढ्ने गर्छ।

यदि ग्यास सर्टेज कायमै रहे विशेषगरी बेलुकाको समयमा पिक लोडमा थप ५ देखि १० प्रतिशतसम्म वृद्धि हुन सक्ने उनको आकलन छ। गत वर्षको पिक लोडको आधारमा यस वर्ष पनि लोड बढ्ने अनुमान गरेर आवश्यक तयारी अघि बढाइएको उनले जानकारी दिए। ‘वैशाख र जेठमा लोड बढ्ने सम्भावनालाई ध्यानमा राखेर ट्रान्सफर्मर थप्नेलगायतका तयारी गरिरहेका छौं,’ उनले भने।
पछिल्लो डेढ महिना खाना पकाउने एलपी ग्यास अभाव भइरहेको छ भने पेट्रोलपम्पमा लाइन लाग्नेको संख्या क्रमशः बाक्लिँदो छ। नेपालमा प्रयोग हुने इन्धनमध्ये घरायसी, यातायात र औद्योगिक क्षेत्रमा पेट्रोलियमको खपत बढी हुने गरेको छ। इन्धनको विकल्पमा विद्युत् तथा अन्य वैकल्पिक ऊर्जाको प्रयोग बढाउनैपर्छ।
बेलाबेला बत्ती जाने गुनासोबारे उनले अहिले त्यस्तो समस्या न्यून रहेको बताए। यद्यपि चैत अन्तिमदेखि जेठसम्म हावाहुरीको मौसम सुरु हुने भएकाले रुख ढल्ने वा लाइनमा अवरोध आउँदा केही समयका लागि विद्युत् अवरोध हुन सक्ने उनको भनाइ छ।
‘हावाहुरीको समयमा रुख ढल्ने वा पात लाग्ने जस्ता कारणले केही समयका लागि बत्ती जान सक्छ,’ उनले भने, ‘तर त्यसले खाना पकाउनै नसक्ने गरी ठूलो समस्या भने हुने सम्भावना छैन।’ प्राधिकरणले विद्युत् माग वार्षिक रूपमा १० देखि १५ प्रतिशतसम्म बढ्ने अनुमानका आधारमा तयारी गरिरहेको शाक्यले बताएका छन्।