काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पताल बीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा चेम्बर अफ कमर्सका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ तथा नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले हस्ताक्षर गरे।
एक वर्षका लागि लागू हुने उक्त सम्झौताअनुसार चेम्बर कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा तिनका प्रत्यक्ष आश्रित (पति÷पत्नी, बाबुआमा तथा २२ वर्षमुनिका दुई सन्तान)ले मेडिसिटीमा उपचार गराउँदा विशेष स्वास्थ्य सेवा तथा विभिन्न सहुलियत प्राप्त गर्नेछन्।
सम्झौताअनुसार नेपाल मेडिसिटीले अस्पतालको भर्ना तथा बाह्य रोगी सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ। यद्यपि औषधी, उपभोग्य सामग्री, इम्प्लान्ट, प्याकेज सेवा तथा बाह्य परीक्षणमा भने उक्त छुट लागू हुने छैन। बिमामार्फत प्रत्यक्ष क्यासलेस सेवा प्राप्त हुने अवस्थामा पनि छुट सुविधा लागू हुने छैन।
सहकार्यअन्तर्गत नेपाल मेडिसिटीले नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा कर्मचारीका लागि वर्षमा दुई पटक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, बेसिक लाइफ सपोर्ट तालिम दिने, विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउने तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमति भएको छ।
सो अवसरमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उक्त सहकार्यबाट चेम्बरका सदस्य, उनीहरूका परिवार तथा व्यवसायिक समुदायले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने विश्वास व्यक्त गरे।
मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले चेम्बरका सदस्य तथा व्यवसायीलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।