काठमाडौं। अम्बे स्टील्सलले ९ महिनामै सवा ६ अर्ब बराबरको व्यापार गरेको छ। नेपालको स्टील उद्योगमा नेतृत्वदायी भूमिका खेलिरहेको कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ६ अर्ब १८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो।
निर्माण क्षेत्रमा आएको सुस्तीका बाबजुद कम्पनीले बलियो बजार हिस्सा र ब्रान्ड पहिचानका कारण अर्बौंको व्यापार कायम राख्न सफल भएको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको तथ्यांकले देखाएको छ। इन्फोमेरिक्सअनुसार कम्पनीको यो मजबुत व्यावसायिक उपस्थितिका आधारमा यसको साख मूल्यांकन (रेटिङ) लाई ‘त्रिपल बी माइनस’ पुनर्पुष्टि गरिएको छ।
कम्पनीले बैंकहरूबाट उपयोग गरिरहेको कुल ६ अर्ब ३० करोड ३४ लाख रुपैयाँ बराबरको कर्जा सुविधाका लागि यो रेटिङ प्राप्त भएको हो। साख मूल्यांकनको यो स्तरले कम्पनीसँग आफ्ना वित्तीय दायित्वहरू पुरा गर्ने क्षमता सुरक्षित रहेको देखाउँछ।
व्यापारको लय र आईपीओको तयारी
अम्बे स्टील्सको व्यापारिक ग्राफ पछिल्ला वर्षमा राम्रो देखिएको छ। आर्थिक वर्ष २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२५ मा १३ प्रतिशतको वृद्धि गर्दै ९ अर्ब १० करोड ९० लाखको व्यापार गरेको थियो। चालू वर्षको ९ महिनाको ६ अर्ब १८ करोडको कारोबारले कम्पनीको बजार पकड अझै मजबुत रहेको पुष्टि गर्छ।
कम्पनीले अहिले आफ्नो वित्तीय संरचनालाई थप सुदृढ बनाउन र ऋण भार कम गर्न सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने योजनालाई तीव्रता दिएको छ। आईपीओमार्फत नयाँ पूँजी भित्रिएपछि कम्पनीको पूँजीगत आधार बलियो हुने र व्यावसायिक विस्तारमा थप सहयोग पुग्ने रेटिङ रिपोर्टमा उल्लेख छ।
निर्माण क्षेत्रमा आएको सुस्तीका बाबजुद कम्पनीले बलियो बजार हिस्सा र ब्रान्ड पहिचानका कारण अर्बौंको व्यापार कायम राख्न सफल भएको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको तथ्यांकले देखाएको छ।
बलियो प्रवर्द्धकसँगै ब्रान्ड इमेज, पूर्ण एकीकृत उत्पादनमा लागत बचत
अम्बे स्टील्स व्यावसायिक घराना ‘अम्बे ग्रुप’द्वारा प्रवर्द्धित उद्योग हो। यो ग्रुपअन्तर्गत शौर्य सिमेन्ट, ऋद्धि सिद्धि सिमेन्ट र जय अम्बे स्टील्सजस्ता ठूला उद्योग सञ्चालनमा छन्, जसले गर्दा कम्पनीलाई कच्चा पदार्थ आपूर्ति र वितरणमा ठूलो सहयोग पुगेको छ। कम्पनीमा सोभाकर न्यौपानेको करिब २४ प्रतिशत, शिवराज न्यौपानेको करिब १८ प्रतिशत, सिर्जन अग्रवालको १२.५० प्रतिशत र शिवानी न्यौपानेको करिब ११ प्रतिशत सेयर स्वामित्व छ।
यो कम्पनीको उत्पादनमा ‘अम्बे टीएमटी’ र ‘अम्बे जीआई’ नेपालका सर्वाधिक रुचाइएका र चिनिएका ब्रान्ड हुन्। देशभर फैलिएका ६५५ वटा डिलरको विशाल सञ्जालले गर्दा अम्बेका उत्पाद उपभोक्ताको सहज पहुँचमा छन्।
कम्पनीको सबैभन्दा ठूलो सबल पक्ष यसको ‘ब्याकवार्ड इन्टिग्रेशन’ अर्थात् आफैँ बिलेट उत्पादन गर्ने क्षमता हो। भैरहवास्थित उद्योगमा वार्षिक ८० हजार मेट्रिक टन बिलेट उत्पादन गर्ने आफ्नै प्लान्ट छ। यसले गर्दा अर्ध–तयार कच्चा पदार्थका लागि अन्य उद्योग वा आयातमा भर पर्नुपर्दैन, जसले उत्पादन लागत घटाउन र गुणस्तर कायम राख्न ठूलो भूमिका खेलेको छ। बिलेटका अतिरिक्त कम्पनीले टीएमटी छड, बिलेट, जीआई तार र ग्याबियन बक्स उत्पादन गर्दै आएको छ।
वित्तीय सूचक र भविष्यको अवसर
कम्पनीको वित्तीय सूचकहरू सन्तोषजनक देखिएका छन्। आर्थिक वर्ष २०२५ मा कम्पनीले ७६ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा (भ्द्यक्ष्त्म्ब्) आर्जन गरेको थियो। चालू वर्षको ९ महिनामा पनि कम्पनीले ४१ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ। सुरुआती महिनामा महँगो कच्चा पदार्थको मौज्दात का कारण नाफामा सामान्य दबाब देखिए पनि आगामी दिनमा यसमा सुधार आउने प्रक्षेपण गरिएको छ। कम्पनीको ब्याज तिर्ने क्षमता २.१६ गुणा रहेको छ, जुन सुरक्षित मानिन्छ।
सरकारले आगामी आर्थिक वर्षका लागि पूँजीगत खर्चतर्फ ४३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ। ठूला पूर्वाधार आयोजना, जलविद्युत् र सडक निर्माणका काम तीव्र गतिमा अघि बढ्ने देखिएकाले स्टिलजन्य उत्पादनको माग बढ्ने निश्चित छ।
रिपोर्टअनुसार, अनुभवी प्रबद्र्धक, स्थापित ब्राण्ड र आधुनिक उत्पादन प्रविधिका कारण अम्बे स्टील्सले आगामी दिनमा आफ्नो व्यापार र नाफालाई थप उचाइमा पुर्याउने देखिन्छ। आईपीओ निष्कासन र त्यसको उचित परिचालनले कम्पनीलाई नेपालको स्टील उद्योगमा अझै शक्तिशाली बनाउने विश्वास गरिएको छ।