काठमाडौं। नेपालको व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको हिरो मोटरसाइकल एसेम्बली उद्योग सी.जी. फ्युचर फ्याक्ट्रीको व्यापारमा उल्लेख्य सुधार देखिएको छ। विश्वविख्यात ‘हिरो’ ब्रान्डका दुईपांग्र्रे सवारीसाधनको स्थानीय एसेम्बल सुरु गरेसँगै कम्पनीले छोटो अवधिमै अर्बौंको कारोबार गर्न सफल भएको हो।
रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै ४ अर्ब १० करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले यस वर्ष दुई महिना बाँकी छँदै अघिल्लो वर्षको तुलनामा व्यापारमा ठूलो फड्को मारेको हो।
कम्पनीको मजबुत वित्तीय प्रदर्शन र चौधरी ग्रुपको व्यावसायिक अनुभवका आधारमा इक्रा नेपालले यसको साख मूल्यांकन (क्रेडिट रेटिङ) मा सुधार गर्दै ‘ए फोर’ रेटिङलाई निरन्तरता दिएको छ। साथै, कम्पनीलाई ‘इस्युअर नट कोअपरेटिङ’ को सूचीबाट समेत हटाएको छ, जसले कम्पनीको वित्तीय पारदर्शिता र साखमा थप विश्वास बढाएको छ।
हिरो ब्रान्डको पुनरागमन र स्थानीय एसेम्बली
चौधरी ग्रुपले नवलपरासीस्थित सी.जी. इन्डस्ट्रियल पार्कमा हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको हो। सन् २०२४ को अप्रिल मध्यदेखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योगले हिरो मोटोकर्प लिमिटेड इन्डियासँग प्राविधिक सहकार्य गरेको छ।
स्थानीय स्तरमै मोटरसाइकल एसेम्बली गर्दा मूल्य प्रतिस्पर्धी हुनु र हिरो ब्रान्डप्रतिको पुरानो जनविश्वासका कारण बजारमा यसको माग निकै उच्च देखिएको छ। यहाँ एसेम्बल गरिएका सवारी साधनहरू कम्पनीको भगिनी संस्था सी.जी. मोटर्समार्फत देशभरका डिलर नेटवर्कबाट बिक्री भइरहेका छन्।
लोकप्रिय मोडल र बजार हिस्सा
चौधरी ग्रुपले नवलपरासीस्थित सी.जी. इन्डस्ट्रियल पार्कमा हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको हो। सन् २०२४ को अप्रिल मध्यदेखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योगले हिरो मोटोकर्प लिमिटेड इन्डियासँग प्राविधिक सहकार्य गरेको छ।
कम्पनीको व्यापारलाई मुख्यतया हिरोका दुईवटा चर्चित मोडल ‘सुपर स्प्लेन्डर’ मोटरसाइकल र ‘जुम जेडएक्स’ स्कुटरले नेतृत्व गरिरहेका छन्। चालू आर्थिक वर्षको कुल आम्दानीमा यी दुई मोडलको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको छ। नेपाली सडकका लागि उपयुक्त र किफायती मानिने यी मोडलहरूको माग सहरदेखि गाउँसम्म उच्च छ। कम्पनीले आगामी दिनमा थप नयाँ मोडलहरू पनि एसेम्बल गर्ने योजना बनाएको छ, जसले बजार हिस्सा अझै बढाउने देखिन्छ।
वित्तीय सूचकमा उत्साहजनक सुधार
कम्पनीको सञ्चालन नाफा र अन्य वित्तीय सूचकहरू निकै मजबुत देखिएका छन्। आर्थिक वर्ष २०८१÷८२ मा ६.२ प्रतिशत रहेको सञ्चालन मुनाफा चालू वर्षको १० महिनामा बढेर ८.७ प्रतिशत पुगेको छ। त्यस्तै, कम्पनीको ब्याज तिर्ने क्षमता १.६ गुणाबाट सुधार भएर ४.२ गुणा पुगेको छ। सावाँ र ब्याज तिर्ने नगद प्रवाह क्षमता ३.६ गुणा रहनुले कम्पनीको वित्तीय स्वास्थ्य निकै राम्रो रहेको पुष्टि गर्छ। कम्पनीको नेटवर्थ र ऋणको अनुपात पनि विगतको तुलनामा सुधारिएर ३.३ गुणामा झरेको छ।
अनुभवी नेतृत्व र अवसर
सी.जी. फ्युचर फ्याक्ट्रीको नेतृत्व चौधरी ग्रुपका अध्यक्ष निर्वाण कुमार चौधरीले गरिरहेका छन् भने यसमा सारिका चौधरीको ६० प्रतिशत र निर्वाण चौधरीको ४० प्रतिशत सेयर स्वामित्व छ। अटोमोबाइल क्षेत्रमा चौधरी ग्रुपको लामो अनुभव र स्थापित डिलर नेटवर्क कम्पनीका लागि सबैभन्दा ठूलो सबल पक्ष हो। सरकारले स्थानीय एसेम्बली उद्योगलाई प्रोत्साहन गर्न अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने नीति लिएका कारण पनि हिरोका मोटरसाइकलहरू बजारमा अन्य प्रतिस्पर्धी ब्राण्डभन्दा आकर्षक बनेका छन्।
भविष्यमा विद्युतीय सवारीसाधनको चुनौती र अन्य स्थापित ब्राण्डहरूसँगको प्रतिस्पर्धा भए तापनि हिरो ब्राण्डको पहिचान र स्थानीय एसेम्बलीको लागत लाभले गर्दा सी.जी. फ्युचर फ्याक्ट्रीको व्यापारिक भविष्य निकै सकारात्मक देखिएको छ। कम्पनीले आफ्नो सञ्चालन दक्षता बढाउँदै र नयाँ मोडल थप्दै जाँदा नेपालको दुई पाङ्ग्रे सवारी बजारमा आफ्नो नेतृत्वदायी स्थान सुरक्षित गर्ने रिपोर्टमा उल्लेख छ।