काठमाडौं। बजारमा ग्यास अभावको चर्चासँगै विद्युतीय (इन्डक्सन) चुलोको माग बढेको छ। ग्यास सहज रुपमा नपाइने आशंका र ऊर्जा विकल्प विद्युतीय चुलोको माग बढेको पाइएको हो।
इजरायल र अमेरिकाले आक्रमण गरेपछि प्रत्याक्रमणमा उत्रिएको इरानले अमेरिकी सैनिक बेसक्याम्प रहेका छिमेकी मुलुक र तिनका इन्धन भण्डारलाई निशाना बनाएसँगै विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध देखिएको छ। मध्यपूर्वमा चर्किएको भू-राजनीतिक तनावले ८० प्रतिशत भारत आयात निर्भर नेपालको भान्सा पनि प्रभावित बनेको छ। पछिल्लो डेढ महिना खाना पकाउने एलपी ग्यास अभाव भइरहेको छ भने पेट्रोल पम्पमा लाइन लाग्नेको संख्या क्रमशः बाक्लिँदो छ।
नेपालमा प्रयोग हुने इन्धनमध्ये घरायसी, यातायात र औद्योगिक क्षेत्रमा पेट्रोलियमको खपत बढी हुने गरेको छ। इन्धनको विकल्पमा विद्युत् तथा अन्य वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्ने आवश्यकता देखिएको छ। बजारमा विद्युतीय चुलोको माग केही वृद्धि भएको व्यवासायीले बताएका छन्।
घरायासी प्रयोजनका लागि विद्युतिय सामग्री बिक्रीकर्ता श्री मालिका ट्रेड लिंक सेन्टरका अनुसार पछिल्लो सातायता विद्युतीय चुलोतर्फ उपभोक्ता आकर्षित हुन थालेका छन्। सेन्टरका अनुसार दैनिक करिब ८ वटा विद्युतीय चुलो बिक्री हुने गरेको छ।
ग्यास सहज रुपमा नपाइने अवस्था देखिएकाले पनि केही उपभोक्ताको ध्यान इन्डक्सन चुलोतर्फ आकर्षित भएका हुन्। नेपाल लोडसेडिङ मुक्त भएको वि.सं.२०७५ सालदेखि नै विद्युतीय चुलो प्रयोग हुँदै आएको जेएम इलेक्ट्रोनिकका श्रीराम ढकाल बताउँछन्। उनले आफ्नो पसलबाट महिनामा करिब ८ देखि १० वटा विद्युतीय चुलो बिक्री हुने जानकारी दिएका छन्। ‘मिडियामा भारतमा ग्यासको मूल्य बढेपछि नेपालमा पनि बढ्न सक्छ भन्ने खबर आइरहेका छन्,’ उनले भने, ‘त्यसले गर्दा ग्यास सहज रुपमा पाइरहेको छैन भन्ने चर्चा पनि छ। यसले प्रायको विकल्प इन्डक्सन चुलो नै हो।’
बजारमा विद्युतीय चुलोको माग केही बढ्दो देखिएको छ। तर, तत्काल ठूलो अभाव नहुने सरोकारवालाले बताएका छन्।
ढकालका अनुसार, धेरै उपभोक्ताले इन्डक्सन प्रयोग गर्दा बिजुली धेरै खपत हुन्छ भन्ने धारणा राखेकाले प्रयोग गर्न हिच्किचाउने गरेको उनले बताए। ‘इन्डक्सन पहिलेदेखि नै प्रयोगमा रहेको सामान हो। तर, बिजुली धेरै खर्च हुन्छ भन्ने सोचका कारण धेरैले प्रयोग गर्दैनन्,’ उनले भने। बजारमा विद्युतीय चुलोको माग केही बढ्दो देखिएको छ। तर, तत्काल ठूलो अभाव नहुने सरोकारवालाले बताएका छन्।
मध्यपूर्वमा पछिल्लो समय चर्किएको द्वन्द्वका कारण इन्धन आपूर्तिमा समस्या आउने सम्भावनाबारे चर्चा भइरहेका बेला नेपालमा वैकल्पिक ऊर्जातर्फ चासो बढ्न थालेको देखिएको छ। विशेषगरी घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यास अभाव हुने आशंका बढेसँगै केही उपभोक्ता विद्युतीय उपकरणतर्फ आकर्षित हुन थालेका घारायासी प्रयोजनका लागि विद्युतीय समाग्री आयातकर्ताले बताएका छन्।
सिजी ग्रुप कम्पनीका अफिस म्यानेजर नवीनकुमार खड्काका अनुसार, पछिल्लो करिब एक सातादेखि इन्डक्सन चुलोको माग केही बढेको छ। उनका अनुसार, ग्यास अभाव भए पनि यस्ता विद्युतीय चुलो प्रयोग गरेर खाना पकाउन सकिने भएकाले यसलाई वैकल्पिक समाधानका रुपमा लिन सकिने उनको भनाइ छ। ग्यास जस्तै विद्युतीय चुलो पनि अभाव र मूल्य वृद्धि हुने हो की भन्ने अशंका भइरहको छ।
विद्युतीय समाग्री अभाव नहुने खड्का बताउँछन्। तर, इन्धन महँगो भई ढुवानी लगात लागेर केही महँगो हुन सक्ने आंकलन खड्काको छ। ‘हाल इन्डक्सन चुलो बजारमा अभाव हुने सम्भावना भने देखिएको छैन,’ उनले भने, ‘मूल्य पनि हाल स्थिर छ। तर, भविष्यमा इन्धनको मूल्य बढेमा ढुवानी लागत बढ्ने भएकाले त्यसको प्रभाव मूल्यमा पर्न सक्ने सम्भावना भने रहन्छ।’
सरकारले वार्षिक रुपमा करिब १० प्रतिशत खपत बढ्ने अनुमानका आधार सोही आधारमा विद्युत् उत्पादन, वितरणलगायत विषयको तयारी गर्दै आएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिमा कुनै समस्या नरेहको जनाएको छ। अहिलेको लोड जाडो महिनाको पिक लोडभन्दा करिब १५० मेगावाट कम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार हाल कामाडौं उपत्यकाको करिब ४ सय मेगावाटदेखि साढे ४ सय मेगावाटसम्म लोड आइरहेको छ। ‘जाडो महिनामा भने ६ सय मेगावाटसम्म विद्युत् उपलब्ध गराइएको थियो,’ उनले भने, ‘अहिलेको अवस्थामा ६ सय मेगावाटसम्म दिन सक्ने क्षमता हामीसँग छ।’
तराई क्षेत्रमा भने गर्मी बढेसँगै वैशाखपछि विस्तारै विद्युत् माग बढ्ने गर्छ।
खाना पकाउने समय बिहान र बेलुका करिब डेढ घन्टा लोड केही बढ्ने भए पनि त्यसलाई व्यवस्थापन गर्न प्राधिकरणको नेटवर्क सक्षम रहेको शाक्यले बताए। तराई क्षेत्रमा भने गर्मी बढेसँगै वैशाखपछि विस्तारै विद्युत् माग बढ्ने गर्छ। यदि, ग्यास सर्टेज कायमै रहे विशेष गरी बेलुकाको समयमा पिक लोडमा थप ५ देखि १० प्रतिशतसम्म वृद्धि हुन सक्ने उनको आंकलन छ। गत वर्षको पिक लोडको आधारमा यस वर्ष पनि लोड बढ्ने अनुमान गरेर आवश्यक तयारी अघि बढाइएको उनले जानकारी दिएका छन्।
विद्युतीय चुलोको मूल्य कति पर्छ?
विद्युतीय चुलोको मूल्य ब्रान्ड र गुणस्तरअनुसार फरक–फरक हुन्छ। उनका अनुसार चाइनिज इन्डक्सन चुलो करिब तीन हजार ५ सय रुपैयाँबाट सुरु हुन्छ भने ब्रान्डेड इन्डक्सन चुलो ८ हजारदेखि बढी पर्छ। सिजी कम्पनीका इन्डक्सन चुलो भने करिब ३ हजार ५ सयदेखि ४ हजार बढी रुपैयाँसम्ममा पाइने एच एण्ड इका विपिन प्रसाईंले बताए। इन्डक्सन चुलोको क्षमता सामान्यतया १५ सय वाटदेखि २ हजार वाटसम्म हुने गरेको छ।