काठमाडौं। सरकारले पाँच वर्षदेखि पुँजीगत खर्च लक्ष्य (बजेट)को न्यून मात्रामा बजेट खर्च गरेको छ। सरकारले पाँच वर्षदेखि पुँजीगत खर्च लक्ष्यको न्यून मात्रामा गरेको हो।
सरकारको वित्तीय नियन्त्रक महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको पाँच वर्षको पुँजीगत खर्चको तथ्याङक हेर्दा लक्ष्यको न्यून मात्रामा पुँजीगत खर्च गरेको देखिन्छ।
महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को असार दोस्रो सातासम्म लक्ष्यको ३४.६५ प्रतिशत मात्र बजेट खर्च भएको छ। कूल बजेट ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ रहेकोमा १ खर्ब ४१ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ खर्च भएको सूचना अधिकारी रिजालले बताए।
यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा कूल विनियोजन बजेटको ३८.७२ प्रतिशत खर्च भएको छ। कूल पुँजीगत बजेट ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ रहेकोमा १ खर्ब ४६ अर्ब ३८ करोड १० लाख रुपैयाँ पुँजीगत खर्च भएको महालेखा नियन्त्रकले जनाएको छ।
यस्तै, नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ कूल पुँजीगत बजेट रहेकोमा १ खर्ब ६३ अर्ब ६ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ। कूल बजेटको ४२.८७ प्रतिशत खर्च गरेको हाे।
आर्थिक वर्ष २०८०/८१ मा कूल बजेटको ४७.३३ प्रतिशत खर्च भएको छ। कूल पुँजीगत बजेट ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ रहेकोमा १ खर्ब ४२ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको तथ्याङकमा उल्लेख छ।
आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म लक्ष्य (पुँजीगत बजेट) ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेकोमा १ खर्ब ५४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ। कूल बजेटको ४४.३२ प्रतिशत खर्च गरेको नियन्त्रक कार्यालयले जनाएको छ।
नियन्त्रकका सूचना अधिकारी रिजालले सरकारले केही शीर्षकहरूको खर्च कटौतीलगायतको रणनीतिले गर्दा पनि पुँजीगत खर्च कम भएको बताए। इन्धनको समस्याले गर्दा निर्माण व्यवसायले पूर्वाधारका काम नगरेकाले गर्दा विगतका वर्षभन्दा पुँजीगत खर्च कम नै भएको उनले बताए। गत वर्षको तुलना चालू आवमा पुँजीगत खर्च ४५/५० प्रतिशतको हाराहारीमा खर्च हुने सूचना अधिकारी रिजालको भनाइ छ।