काठमाडौं। विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ।
बालुवाटारस्थित निर्वाचन समिति कार्यालयको सूचीअनुसार नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिवमा दुई जनाको उम्मेदवारी परेको हो। अध्यक्षका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज वज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन्।
यस्तै महासचिव पदमा चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) प्रतिस्पर्धामा छन्।
६ उपाध्यक्ष पदका लागि १० जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षका आकांक्षीमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रविन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई र रोशन थापा छन्।
महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्षका लागि भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनले उम्मेदवारी दिएको एनआरएनए सचिवालयले जनाएको छ।
सचिवमा आठ जना, कोषाध्यक्षमा दुई जना र सह–कोषाध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसबाहेक विभिन्न क्षेत्रीय संयोजक र उपसंयोजक पदका लागि पनि मनोनयन दर्ता भएको छ।
एनआरएनएकाे बृहत् एकता महाधिवेशन फागुन ३० देखि काठमाडाैंमा हुँदै छ।