काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ऋणको बोझ र पैसाको दुरुपयोगले व्यक्तिको भाबी पुस्ताको स्वतन्त्रतासमेत खोस्न सक्ने चेतावनी दिएका छन्।
‘ग्लोबल मनी विक २०२६’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले पैसाको महत्व र यसको सही परिचालनबारे आफ्नो धारणा राखेका हुन्। कार्यक्रममा उनले पुर्खाले लिएको ऋण तिर्न नसक्दा सन्तानहरूसमेत ‘कमारा’ वा दासी भएर बस्नुपर्ने ऐतिहासिक बाध्यतालाई स्मरण गराउँदै विद्यार्थीलाई वित्तीय अनुशासन र ऋण व्यवस्थापनबारे सचेत रहन आग्रह गरे।
गभर्नर पौडेलले पैसाको सही उपयोग नगर्दा वा ऋणको दलदलमा फस्दा आउने भयावह स्थितिको चित्रण गर्दै भने, ‘तपाईंको बाजे वा हजुरबाजेले ऋण तिर्न सक्नु भएन भने त्यसको बदलामा सन्तानले समेत कमारो भएर बस्नुपर्ने अवस्था पहिला थियो, यदि तपाईं वा तपाईको अभिभावकले पैसाको दुरुपयोग गर्नुभयो भने त्यसको मूल्य सन्तानले चुकाउनुपर्ने हुन्छ।’
उनले थपे, ‘पैसा भनेको केवल नोट मात्र होइन, यो तपाईंको स्वतन्त्रता र भविष्यको सुरक्षा पनि हो। यसलाई केयरफुल्ली ह्यान्डल गर्न नसके जिन्दगीभर अरूको सेवामा दास बनेर खटिनुपर्ने हुन सक्छ।’
पैसालाई ‘स्टोर अफ भ्यालु’का रूपमा परिभाषित गर्दै गभर्नर पौडेलले आजको काम वा मिहिनेतलाई भविष्यका लागि सुरक्षित राख्ने माध्यम नै पैसा भएको बताए। ‘तपाईंले आज गरेको कामको प्रतिफल पैसामा रूपान्तरण हुन्छ, जसले भविष्यमा चिया, चिनी, बिजुली वा अन्य सेवा साट्न मद्दत गर्छ,’ उनले उपस्थित विद्यार्थीहरूलाई बुझाउँदै भने।
परम्परागत भौतिक नोटहरू विस्तारै भर्चुअल र डिजिटल माध्यममा रूपान्तरण भइरहेको सन्दर्भमा उनले बैंक र इन्टरनेटमार्फत हुने कारोबारको ज्ञान अनिवार्य रहेको उल्लेख गरे।
‘तपाईं भविष्यमा डाक्टर, इन्जिनियर, प्लम्बर वा शिक्षक जे बने पनि पैसा कसरी कमाउने, कसरी बचत गर्ने र कसरी खर्च गर्ने भन्ने स्पष्ट सोच हुनुपर्छ,’ उनले भने।
सन् २०१२ देखि सुरु भएको ‘ग्लोबल मनी विक’को यो अभियानले विद्यार्थीहरूलाई आर्थिक रुपमा जिम्मेवार बनाउने विश्वास उनको थियो।