काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको विरोध गर्दै देशभरका निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ। महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बजार मूल्य स्थिर नहुँदासम्मका लागि सरकारसँग ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरेको हो।
नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र एलपी ग्यासमा गरेको भारी मूल्य वृद्धिले निर्माण उद्योगलाई धराशयी बनाएको महासंघको ठहर छ। मध्यपूर्व र पश्चिम एसियामा जारी युद्धलाई कारण देखाउँदै गरिएको यो वृद्धिले पूर्वाधार निर्माणको लागत ह्वात्तै बढ्ने र त्यसको प्रत्यक्ष आर्थिक भार सरकार र व्यवसायी दुवैलाई पर्ने विज्ञप्तिमा उल्लेख छ।
इन्धन सामग्रीमा भएको भारी मूल्य वृद्धिबाहेक हालै निर्वाचनको मौका पारेर नेपालमा सिमित आयातकर्ताहरूले कार्टेलिङ गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको पनि कृत्रिम अभाव सिर्जना गरी निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक समस्यामा पारेको महासंघले जनाएको छ।
सिमित ठूला आयातकर्ताहरूले निर्माण व्यवसायीबाट बुकिङबापत अग्रीम पैसा र लेटर अफ क्रेडिट (बैंकको भुक्तानी ग्यारेन्टी पत्र) लिएर त्यहीबाट बिटुमिन नेपाल ल्याएर गोदाममा थन्क्याउँदै ‘अहिले बिटुमिन दिन सक्तिनँ पैसा फिर्ता लैजाऊ’ भनिरहेको अवस्था सिर्जना भएको प्रेस विज्ञप्तिमार्फत महासंघले जनाएको छ।
यसले सडक निर्माणमा संलग्न व्यवसायीहरू समस्यामा परेको र सडक कालोपत्रे सुरु भएपछि बिटुमिनको अभाव हुँदा कालोपत्रे गर्न ठिक्क पारिएको सडकमा थप क्षति हुने सम्भावना रहेका महासंघले जनाएको छ।
साथै, बुकिङ गर्दाको मूल्यभन्दा अहिले प्रतिलिटर ४० रुपैयाँसम्म मूल्य वृद्धि हुँदा निर्माण व्यवसायी दोहोरो पीडामा परेका छन्। अझ पछिल्लो समय भारतले बिटुमिनको निर्यात बन्द गरेका कारण मुलुकको निर्माण उद्योग थप प्रताडित भएको छ।
निर्वाचनकै माहोलबीच सिमित उद्योगीहरूले फलामे डन्डी र सिमेन्टमा पनि मूल्य वृद्धि गर्दा सरकारी पूर्वाधार मात्र होइन निजी क्षेत्रको पूर्वाधारमा पनि ठूलो आर्थिक भार थपिएको छ। हाल फलामे डन्डी प्रतिकेजी ८५ रुपैयाँबाट अहिले एक सय रुपैयाँ पुर्याइएको छ। सिमेण्टमा पनि प्रतिबोरा ५० रुपैयाँ सम्म मूल्यवृद्धि भएको महासंघले जनाएको छ।