काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई आज प्रमाणपत्र वितरण गर्दै छ।
आयोगका अनुसार आज बिहान ११ः३० बजे आयोग परिसरमा कार्यक्रम आयोजना गरी निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिइने भएको हो।
प्रमाणपत्र लिन आउँदा उम्मेदवारले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटोसहितको विवरण उपलब्ध गराउन आयोगले आग्रह गरेको थियो।
आयोगले राजनीतिक दलहरूबाट छनोट भई आएका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरू निर्वाचित भएको घोषणा गरिसकेको छ।
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ६ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ।समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउने आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचित सांसदले प्रमाणपत्र पाएपछि आगामी चैत १२ मा शपथको तयारी थालिएको छ। त्यसपछि सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ।