काठमाडौं। जनकपुरधाम उपमहानगर १४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो। आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे।
रुबी सानै भए पनि विद्रोही स्वभावकी थिइन्। बालविवाह गरेर छोरीहरुले भोगेका पीडा उनले प्रत्यक्ष देखिइन्। त्यसमा पनि चर्को दाइजो प्रथाको सिकार भएका परिवारको अवस्था देख्दा उहाँलाई छटपटी हुन्थ्यो। तर, समाज उस्तै छ।
रुबी हुर्किँर्दै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए । यद्यपि रुबीले आमाबुबा समक्ष आफ्नो अडान राखिरहे, 'पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे।' धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिनुभयो । सिभिल इञ्जिनियरिङमा अध्ययनरत २५ वर्षिया रुबी हालै समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ।
उनी श्रम संस्कृति पार्टीबाट निर्वाचित भएकी हुन्को। निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उनले भावुक हुँदै भनिन्, 'मधेसको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउनु छ।'
उनका अनुसार मधेसमा अधिकांश छोरीहरुको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ। छोराहरु रुँदै मजदुरीका लागि विदेशिन बाध्य छन्। रुबीका बुवा पनि दश वर्षदेखि मजदुरीका लागि साउदीमा छन्। अब पहिलो काम उनी बुबालाई घर फर्काउन चाहन्छिन्।
'स्वदेशमै रोजगार भए कसलाई विदेशिन मन लाग्छ र?,' उनले भनिन्, 'स्वदेशमै रोजगार भए, बुबा विदेशिनु पर्थेन। मेरो बुबा जस्ता धेरै नेपाली विदेशमा छन्। उनीहरुलाई स्वदेशमै फर्काउन चाहन्छु।' कुमारीको अर्को मुद्दा स्वदेशमै युवा रोजगार सिर्जना गर्न आवाज उठाउने रहेको छ।