काठमाडौं। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्स्पो २०८२ आजदेखि सुरु भएको छ। ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित सुरु भएको प्रदर्शनी चार दिनसम्म सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले हालैको हावाहुरीका कारण पुष्प व्यवसायीहरूले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै त्यस्ता प्राकृतिक विपत्तिबाट हुने जोखिम न्यूनीकरणका लागि बिमा व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सरकारसँग आग्रह गरे।
उनले हावाहुरीकै कारण केही व्यवसायी यस पटकको प्रदर्शनीमा सहभागी हुन नसकेको जानकारी दिँदै पुष्प क्षेत्रको दिगो विकासका लागि बिमा, नीतिगत सुधार र आधुनिक प्रविधिको विस्तार अपरिहार्य रहेको बताए।
उनका अनुसार पुष्प व्यवसाय २०११ सालदेखि सुरु भई हाल ५२ जिल्लामा विस्तार भइसकेको छ। करिब २७० हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा १ हजार २३५ भन्दा बढी व्यवसाय संलग्न छन् भने करिब ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ।
यस क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५३ हजारभन्दा बढीले रोजगारी पाएको उनले जानकारी दिए। वार्षिक १० देखि १५ प्रतिशतसम्म माग वृद्धि भए पनि स्वदेशी उत्पादनले पूर्ण रूपमा धान्न नसकेको उल्लेख गर्दै उनले पुष्प प्रवर्धन नीति २०६९ को पुनरावलोकन, अवैध आयात नियन्त्रण र आधुनिक प्रविधिको विस्तारमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। राजेन्द्र प्रसाद मिश्रले पुष्प व्यवसायलाई आर्थिक वृद्धिको सम्भावनायुक्त क्षेत्रका रूपमा उल्लेख गर्दै यसले रोजगारी सिर्जना गर्नुका साथै नागरिकको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताए। उनले शहरीकरणसँगै बढ्दै गएको मानसिक तनाव कम गर्न हरियाली र पुष्पको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
सचिव मिश्रले पुष्प व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको भन्दै नीतिगत संरचना समयानुकूल अद्यावधिक गर्नुपर्नेमा जोड दिए। मन्त्रालयले सशर्त अनुदान कार्यक्रममार्फत पुष्प उत्पादन, आपूर्ति र बजार विस्तारलाई निरन्तरता दिने जानकारी दिँदै उनले संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गरेर काम भइरहेको बताए। साथै, अनुसन्धान र प्रविधिविकासमा निजी क्षेत्रसँग सहकार्य बढाएर सार्वजनिक निजी साझेदारी मोडेललाई सुदृढ गर्नुपर्ने उनको धारणा थियो।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले स्मार्ट पुष्प व्यवसायका लागि बजेट विनियोजन भइसकेको जानकारी दिँदै आवश्यक कार्यविधि अर्थ मन्त्रालयमा स्वीकृतिको प्रक्रियामा रहेको उल्लेख गरे। मन्त्री पौडेलले पुष्प व्यवसायले अब आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले प्रविधि प्रयोग, उत्पादन सुधार र दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले पुष्प व्यवसायलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले निरन्तर २७ वर्षदेखि हुँदै आएको फ्लोरा एक्स्पोले उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै नेपालमा पुष्प उत्पादन र निर्यातको ठूलो सम्भावना रहेको धारणा राखे। भन्सार तथा निर्यात प्रक्रियामा सहजीकरण गर्न उनले राज्यसँग आग्रह पनि गरे।
प्रदर्शनीमा करिब ६० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। मेलामा ८३ वटा स्टल रहेका छन्, जसमा व्यावसायिक, प्रतिस्पर्धात्मक, फुड तथा ल्यान्डस्केपसम्बन्धी स्टल समावेश छन्।
प्रदर्शनीमा मौसमी फूल, आलंकारिक विरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट, कृषि औजार तथा आधुनिक पुष्प खेती प्रविधिको प्रदर्शन तथा बिक्री भइरहेको छ। साथै विभिन्न विधामा उत्पादन प्रतिस्पर्धा पनि आयोजना गरिएको आयोजकले जनाएको छ।
सरोकारवाला निकायहरूले पुष्प क्षेत्रलाई रोजगारी, आर्थिक वृद्धि र निर्यात सम्भावनाको प्रमुख आधारका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र र अन्य साझेदारबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।