काठमाडौं। सरकारले चिया क्षेत्र घोषणा गरेका झापा, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित देशका विभिन्न भागमा यो वर्षको वर्षको पहिलो चिया टिपाइ सुरु भएको छ। ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्त्वपूर्ण मानिने गरेको छ।
वर्षको पहिलो चिया टिपाइ इलामसँगै पाँचथरमा रहेको कञ्चनजंगा चिया कारखानाले पनि सुरु गरिसकेको छ। फागुन अन्तिम सातादेखि उत्पादन सुरु भएको चियाले उद्योगी र किसानलाई आम्दानीको स्रोत खुल्ने गरेको इलामका चिया व्यवसायी जीवन पाण्डेले बताए। चियाको पहिलो टिपाइलाई विशेष सावधानीका साथ संकलन गरिन्छ। चियाको कोमल पातबाट उच्च गुणस्तरको उत्पादन हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग पनि बढी हने गरेको व्यवसायी पाण्डे सुनाउँछन्।

यो इलामको दक्षिणी क्षेत्रबाट टिपाइ सुरु भएको चिया उद्योगी शरद सुब्बाले बताए। इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको उनको भनाइ छ। पहिलो टिपाइमा मात्रै करिब साढे दुई सय किलो चिया संकलन हुने र सोयाकसँगै चिलिमकोटलगायतका क्षेत्रका बगानमा क्रमशः चिया टिपाइ सुरु हुने उनले जानकारी दिए।
इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चालकसमेत रहेका सुब्बाले यस वर्ष हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारी कायम गरिएको बताए। किसानलाई प्रतिकिलो ६५ देखि प्रतिकिलो १५०० सम्म मूल्य दिइनेछ। स्थानीय किसान चियाको पहिलो टिपाइ आम्दानीको स्रोत हुने आशमा रहने गरेकोसुब्बाको भनाइ छ।
चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ। उक्त परिमाणको चियाबाट २ अर्ब ३२ करोड १२ लाख ५६ हजार बराबरको विदेशी मुद्रा आर्जन भएको भन्सार तथ्यांकले देखाएको छ।
माई नगरपालिका–५ का किसान बुद्ध लिम्बूले यस वर्ष कात्तिकयता पर्याप्त वर्षा नपरेकाले जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा चैतको पहिलो सातापछि मात्र टिपाइ सुरु हुने सम्भावना रहेको जानकारी दिए। इलाम, झापा, ताप्लेजुङलगायत स्थानमा उत्पादित चिया विशेषगरी जर्मनी, रुस, अमेरिकालगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ।
इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रिनलगायत फरक–फरक स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेको मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले बताए। चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ। उक्त परिमाणको चियाबाट २ अर्ब ३२ करोड १२ लाख ५६ हजार बराबरको विदेशी मुद्रा आर्जन भएको भन्सार तथ्यांकले देखाएको छ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार इलाममा करिब सात हजार ६०० भन्दा बढी किसानले सात हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् भने जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा छन्।
नेपालमा पछिल्लो समय चिया उत्पादन बढ्दै गएको छ। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा २ करोड ७० लाख किलो चिया उत्पादन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने २ करोड ६४ लाख किलो उत्पादन भएको थियो।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६३ करोड रुपैयाँबराबरको १ करोड ६५ लाख किलो चिया नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो। चालू आर्थिक वर्ष ४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात हुने चिया तथा कफी विकास बोर्डको भनाइ छ।
नेपालमा वि.सं. १९२० देखि चिया खेती सुरु भएको मानिन्छ। नेपालको निर्यातजन्य केही सीमित कृषि बालीमध्ये चिया अग्रस्थानमा रहँदै आएको छ। तथ्यांकअनुसार नेपालमा कुल २० हजार दुई सय ३० हेक्टरमा चिया खेती हुँदै आएको छ। सरकारले प्रत्येक वर्षको वैशाख १५ मा राष्ट्रिय चिया दिवस मनाउने गरेको छ।