काठमाडौं। नेपालका प्रमुख नगदे बाली अलैंची र अम्रिसो (कुचो) को वार्षिक कारोबार करिब ११ अर्ब रुपैयाँ पुगेको भए पनि नीतिगत जटिलता, उच्च भन्सारदर र बजार पहुँचको अभावका कारण किसान र उत्पादकले अपेक्षित मूल्य पाउन सकेका छैनन। आन्तरिक तथा बाह्य बजार समेट्दा अम्रिसोको करिब २ अर्ब र अलैंचीको करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। तर यो ठूलो आर्थिक गतिविधिको प्रत्यक्ष लाभ भने किसानसम्म पुग्न सकेको छैन।
नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीका अनुसार अम्रिसोको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार गरी वार्षिक करिब २ अर्बदेखि २ अर्ब २५ करोड रुपैयाँसम्म कारोबार हुने गरेको छ। चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा मात्रै ८३ लाख ७६ हजार २१० किलो अम्रिसो निर्यात हुँदा ५५ करोड ३९ लाख ८६ हजार रुपैयाँ भित्रिएको भन्सार विभागको तथ्यांक छ। तर, उत्पादन बढे पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन। अम्रिसोको मुख्य बजार भारत भए पनि निर्यात विविधीकरण हुन नसक्दा जोखिम बढ्दै गएको कार्की बताउँछन। बंगलादेशजस्ता तेस्रो मुलुकमा ३५ प्रतिशतसम्म भन्सार लाग्नुले बजार विस्तारमा बाधा पुगेको उनको भनाइ छ।
उनका अनुसार नेपालबाट वार्षिक करिब १५ हजार टन अम्रिसो निर्यात हुँदै आएको छ। जसबाट करिब १ अर्ब २६ करोड रुपैयाँ आम्दानी हुन्छ। आन्तरिक खपत पनि लगभग त्यति नै रहेको अनुमान छ। अम्रिसो उत्पादनमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ। पशुपालन व्यवसायको विस्तार, अम्रिसो घाँसको पोषण मूल्य तथा वैदेशिक रोजगारीका कारण खाली भएका जमिनको उपयोगले यसको खेती बढेको कार्कीको दाबी छ। तर बजार व्यवस्थापन र उचित मूल्य निर्धारणको अभावले किसान निराश छन।
यस्तै अवस्था अलैंची क्षेत्रमा पनि देखिएको छ। नेपालमा वार्षिक करिब साढे ८ हजार टन अलैंची उत्पादन हुने गरेको छ। चालु आर्थिक वर्षको सात महिनामा ४१ लाख ५३ हजार १५० केजी अलैंची निर्यात हुँदा ८ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको भन्सार विभागको तथ्यांक छ।
नेपालमा उत्पादित करिब ९० प्रतिशत अलैंची भारतीय बजारमा निर्भर छ। नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालका अनुसार भारत हुँदै अन्य मुलुकमा निर्यात हुने संरचनाका कारण नेपाली उत्पादकले प्रत्यक्ष लाभ पाउन सकेका छैनन।
उनले पाकिस्तान लगायतका मुलुकमा निर्यात गर्दा करिब ३५ प्रतिशतसम्म भन्सार लाग्ने गरेको बताए। भारत र भुटानसँगको द्विपक्षीय व्यापार सम्झौताका कारण त्यहाँका उत्पादन सस्तो पर्नु र नेपाली उत्पादन महँगो देखिनुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल पछि परेको उनको भनाइ छ।
भारतमा अत्यधिक निर्भरता र मिडलम्यानको प्रभावका कारण वास्तविक नाफा किसानसम्म नपुगेको व्यवसायीहरूको गुनासो छ। प्रत्यक्ष बजार पहुँच नहुँदा नेपाली अलैंची भारत हुँदै पुनः निर्यात हुने संरचना कायम छ। जसले मूल्य श्रृंखलामा असन्तुलन सिर्जना गरेको छ।
नेपाल विश्वको करिब ६० प्रतिशत अलैंची उत्पादन गर्ने देश भए पनि त्यसअनुसारको लाभ लिन नसकेको व्यवसायीहरू बताउँछन।तेस्रो मुलुकसँग व्यापार सहजीकरण तथा किसानमैत्री मूल्य निर्धारण नीति नहुँदासम्म अलैंची र अम्रिसोको ठूलो कारोबार भए पनि त्यसको प्रतिफल उत्पादकसम्म पुग्ने अवस्था नदेखिएको व्यवसायीहरुको भनाइ छ।
तेस्रो मुलुकमा निर्यात गरी आम्दानी बढाउने विषयमा सरकारी स्तरबाट कुटनीतिक पहल गर्न आवश्यक रहेको व्यवसायीहरुको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शिव घिमिरेले नयाँ सरकारसँग तेस्रो मुलुकमा निर्यात गर्नका लागि सहजता बनाउने विषयमा छलफल गर्ने बताए। किसानले उत्पादन गरेको बस्तु तेस्रो मुलुकमा निर्यात गरी धेरैभन्दा धेरै आम्दानी दिलाउने र आवश्यक प्याकेजिङलाई आकर्षक बनाएर लैजाने विषयमा सहकार्य गरेर सहजता तुलाउने उनले उनको भनाइ छ।