काठमाडौं। शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा बेग्लै खालको हतारो देखिन्थ्यो। कैयौं पाँचतारेलगायतका ठूला होटलमा वर्षौं काम गरेका वरिष्ठ सेफहरू कोही दाउरा काट्दै त कोही ढुङ्गाको चुलो बनाएर आगो सल्काउँदै थिए। कतिले तामाको ताउलो पखाल्दै थिए भने केहीले गिठा र तरुल काट्दै थिए। पर, पानीको धारामा साग केलाएर पखाल्न केही व्यस्त देखिन्थे।
वनभात अर्थात् वनभोज पाक्दै थियो काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित बारीको पाटामा। वरिष्ठ सेफ गोविन्दनरसिंह केसीका अनुसार यो वनभोज भन्ने प्रचलन धेरै पछि आएको हो।
कतिले आफ्नै बिहेका तथा सानोमा आफू जन्ती जाँदाका, जन्तेबाख्रो खाएका आदि स्मृति हाँसोठट्टाका साथ सुनाइरहेका थिए। यी भोगाइले बडो रोमाञ्चित बनाइरहेको थियो नयाँ पुस्तालाई किनकि कार्यक्रमको नाम नै थियो, ‘वनभातको पुरानो स्वाद नयाँ पुस्तासँग।’
उनी भन्छन्, ‘सुरुमा यसलाई वनभात नै भनिन्थ्यो । वर्ष दिनमा कम्तीमा एकदिन बाहिर खानुपर्छ भन्ने धेरै पहिलेको परम्पराअनुसार बाली थन्क्याएपछि प्रायः मंसिर पुसमा बारीको पाटामा या खेतका गरामा भात पकाएर खाने गाउँले चलन थियो। त्यसैबाट वनभोज हुँदै अहिले सहरिया जीवनमा प्रायः सबैले भन्ने गरेको ‘पिकनिक’ भित्रिएको हो।’
यस्तै अनुभव छ, लामो समय होटल सोल्टी, होटल मल्लमा काम गरेका वरिष्ठ सेफ रामकृष्ण पन्तको पनि। आफ्नो करिब साढे ६ दशक पुरानो बाल्यकाल सम्झँदै पन्त भन्छन्, ‘अहिलेका नयाँ प्रचलनले हामीलाई सबथोक बिर्साइदियो। सानो छँदा तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाले खुला चौर तथा बारीका पाटामा वनभात पकाएर खाने गरेको स्मृतिमा आउँछ। सागभात मात्रै भए पनि त्यो बेलाको स्वाद र खुला ठाउँमा खाँदाको रमाइलो अहिले कहाँ पाउनू? जेहोस्, नयाँ पुस्ताका सेफले यसरी हाम्रा पुराना परम्परासँग जोडिएको भोजन संस्कृतिलाई जोगाउने प्रयत्न गरेकामा खुसी लागेको छ।’
तर, होटलमा पाहुनाको मागअनुसार अनेक खानाका परिकार बनाउने गरेका ती सेफहरूले आज भने धेरै थरी परिकार नभएर ‘वनभात’ पकाउँदै थिए। त्यसैले केहीले सिलौटोमा धम्मरधुस लाएर जिरा धनियाँ पिस्दै थिए भने कतिले रैथाने खानाको स्वाद निकाल्न थेपे तयार पार्न मूला थिच्दै थिए। यता वनभात खान आएकालाई स्वागत पेयका रूपमा मही बाँड्ने र टीका लगाइदिने काममा पनि कोही खटेका थिए।
सेफ विक्रम गिरि नेपाली परम्परा र संस्कृतिसँग जोडिएका खाना र तिनका शैलीहरूलाई जोगाइराख्न कुनै न कुनै रूपमा कार्यक्रमको आयोजना गरिने बताउँछन्। केही समयअघि ‘जन्ते बाख्रो खाउँ परम्परा जोगाऔं’ कार्यक्रम पनि उनीहरूले आयोजना गरेका थिए। सेफ गिरि भन्छन्, ‘अहिले पो होटल, पाटी प्यालेसमा विवाह हुन्छ र खानाका परिकार सहजै उपलब्ध हुन्छन्। तर, उबेला जन्ते बाख्रोको महत्त्व नै बेग्लै थियो। वर्षमा एक दिन वनभात नै ठूलो कुरा थियो। त्यसैले त्यो स्वाद र शैलीलाई नयाँ पुस्ताको जानकारीसम्म ल्याउन हामीले यस्ता कार्यक्रम गर्दै जानेछौँ।’
लोकल कुखुराको झोलसहित जेठोबुढो चामलको भात, गिठा र तरुलको तरकारी, मूलाको थेपे (अचार) र रायोको साग थिए वनभातका परिकार। खानाको अन्तिममा थियो दूधको कुराउनी । अनि पेय पदार्थमा थियो मही । सबै गाउँकै उत्पादन अर्थात् अर्गानिक थियो। भोकाएका जन्तीझैँ बारीका पाटामा गोलबद्ध भएर बसे सेफ र अन्य पाहुनाहरू। खानाका लागि न थाल कचौरा थिए र नत चम्चा काँटा नै। सालका टपरी र दुनामा पस्किएको भात हातैले कपाकप खान थाले।
वनभात अहिलेको ‘पिकनिक’ परम्पराको पुरानो रूप हो। त्यसैले त अहिलेको सहरिया जीवनको पिकनिकमा जस्तो न दशथरि खानाका परिकार थिए र न चर्काे स्वरमा कुनै गानाबजानासहितको नाचगान, न त पेयमा कुनै मादक पदार्थ नै थियो। खान बसेपछि सुरु भयो आफू सानो हुँदा खाने गरेको वनभातको स्मरण। कतिले आफ्ना वास्तविक भोगाइ त कोहीले किस्सा सुनाउँदै थिए। कतिले आफ्नै बिहेका तथा सानोमा आफू जन्ती जाँदाका, जन्तेबाख्रो खाएका आदि स्मृति हाँसोठट्टाका साथ सुनाइरहेका थिए। यी भोगाइले बडो रोमाञ्चित बनाइरहेको थियो नयाँ पुस्तालाई किनकि कार्यक्रमको नाम नै थियो, ‘वनभातको पुरानो स्वाद नयाँ पुस्तासँग।’
वनभात अहिलेको ‘पिकनिक’ परम्पराको पुरानो रूप हो। त्यसैले त अहिलेको सहरिया जीवनको पिकनिकमा जस्तो न दशथरि खानाका परिकार थिए र न चर्काे स्वरमा कुनै गानाबजानासहितको नाचगान, न त पेयमा कुनै मादक पदार्थ नै थियो।
करिब ५० वर्षअघिका ती किस्सा र वास्तविकता सुन्दा एकादेशका कथाजस्तै लाग्दै थियो नयाँ पुस्तालाई । वनभात खान पुगेका जेनजी पुस्ताका युवा विज्ञान पाठक र सागर शर्मालाई भने न पहिले विवाहको परिकार बन्ने गरेको जन्तेबाख्रो र नत वनभातकै जानकारी थियो । उनी भन्छन्, ‘कतै सुनेको त थिएँ, तर खाएको थिइन । आज अग्रजबाट यो पुरानो परम्पराबारेमा सुन्दा र सालको टपरीमा हातले खाना खाँदा रमाइलो भयो।’
भुइँमा पलेटी कसेर वनभात खाँदै थिए, होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह । शाहले भने, ‘आज एउटा अद्भूत अनुभव भयो, सेफहरूको केहीअघिको जन्ते बाख्रो कार्यक्रम होस् या आजको वनभात, जिब्रोको स्वाद मात्र नभएर आत्मीय तृप्ति नै मिलेको महसुस भयो। यो नेपाली मौलिक संस्कृतिलाई हामीले नै जोगाउनुपर्छ।’उनले नेपाली परम्परा र संस्कारसँग जोडिएर आउने भोजन संरक्षण र प्रवर्द्धनका लागि हानले अग्रसरता लिने जानकारी दिए।
पर्यटन व्यवसायी अभिषेकविक्रम शाह नेपाली परम्परासँग जोडिएको भोजन संस्कृतिलाई पर्यटन क्षेत्रमा पनि नयाँ प्याकेजका रूपमा परिचित गराउन सकिने बताउँछन्। यसबाट नेपाली संस्कृतिको जगेर्ना पनि हुने र ठूला होटलहरूमा नयाँ प्याकेज दिन सकिए नेपालको संस्कृति पनि विश्वव्यापी हुने उनको धारणा छ ।
प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारी भन्छन्, ‘अहिलेका बालक–युवाले यो परम्परा देखेकै छैनन्। उनीहरूलाई पनि संस्कार र संस्कृति हस्तान्तरण गर्नु अघिल्लो र हाम्रो पुस्ताको पनि कर्तव्य हो । हामीले जति धेरै पुराना कुराहरूलाई पुनःस्थापना गर्छौं त्यो अहिले आएर नयाँ प्याकेजका रूपमा परिचित हुन पुग्दछ। त्यसैले यस्ता संस्कृतिको हामीले नै जगेर्ना गर्नुपर्दछ।’
सालको पातको टपरीमा बारीको डिलमा बसेर वनभात खाँदा अद्वितीय अनुभव भएको चर्चित सेफ प्रकाश कटुवाल र गिरीराज भट्टले बताए। उनीहरूले भने, ‘खानपानको स्वरूप संस्कार र संस्कृतिको शैली फेरिएको छ तर यस्ता परम्परालाई जोगाउनुपर्छ । हामी अब यस्तै पुराना संस्कृतिलाई जोगाउँदै अघि बढ्नुपर्छ।’
वनभातमा रत्नबहादुर थापा, शिवहरि घिमिरे, दीपेन्द्रमान शाक्य, श्याम लामालगायतले नेपालले पर्यटन क्षेत्रमा अब नयाँ नयाँ प्याकेज र आकर्षण थप्नुपर्ने बताए।