काठमाडौं। नेपाल पर्यटन बोर्डले पर्यटकको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि पर्यटक प्रहरीलाई १४ थान मोटरसाइकल हस्तान्तरण गरेको छ। बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोर्ड अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पर्यटक सुरक्षालाई पर्यटन विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गर्दै भने, ‘पर्यटक सुरक्षित भए मात्र गन्तव्य विश्वसनीय बन्छ। आज हस्तान्तरण गरिएका यी साधनले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने विश्वास लिएको छु।’
उनले नेपाललाई सुरक्षित, विश्वसनीय र जिम्मेवार पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरेका छन्।
प्रमुख कार्यकारी अधिकृत जोशीले बोर्डले पर्यटन पूर्वाधार र सेवा सुदृढीकरणमा निरन्तर काम गरिरहेको उल्लेख गरे। उनले भने, ‘पर्यटक प्रहरीलाई सशक्त बनाउनु भनेको समग्र पर्यटन प्रणालीलाई बलियो बनाउनु हो। यी मोटरसाइकलले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत पुर्याउनेछन्।’
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसले पर्यटन क्षेत्रमा आकस्मिक उद्धार तथा संकट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। ‘यसले पर्यटकको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालको पर्यटन छविलाई अझ सकारात्मक बनाउनेछ,’ उनले भने।
बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटा, बोर्ड सदस्य नरेन्द्रदेव भट्ट र राजेन्द्र लामा, साथै पर्यटक प्रहरी प्रमुख डीएसपी कृष्णराज ओझालगायत उपस्थित थिए।
नेपालमा पर्यटक प्रहरीलाई विशेष सुरक्षा निकायका रूपमा परिचालन गर्दै पर्यटकको सुरक्षादेखि लिएर सूचना, सहयोग तथा उद्धारसम्मका कार्य गर्दै आएको छ। नयाँ सवारी साधनको उपलब्धतासँगै पर्यटक प्रहरीे सेवा प्रवाह अझ तीव्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ।