काठमाडौं। प्रभु बैंकले ‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक २०२६ अन्तर्गत चैत २ देखि सुरु गरेको साताव्यापी अभियान चैत ८ मा सम्पन्न भएको छ।
सातै प्रदेशमा रहेका २०० बढी शाखामार्फत वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरी अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ। कार्यक्रमअन्तर्गत समुदाय, महिला, विद्यार्थी तथा युवालाई आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा तथा सुरक्षित वित्तीय कारोबारसम्बन्धी जानकारी दिइएको थियो।
बैंकले डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सचेतना फैलाएको छ। अज्ञात स्रोतबाट आएका लिंक नखोल्न, संवेदनशील व्यक्तिगत विवरण साझा नगर्न तथा डिजिटल ठगीबाट सुरक्षित रहन बैंकको आग्रह छ।
बैंकले बागमतीका ४७, गण्डकीका ५२, लुम्बिनीका १६, कोसीका ३९, मधेसका २९, कर्णालीका १४ र सुदूरपश्चिमका १९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको बताएको छ। बैंकले हाल ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।