काठमाडौं। पठाओ नेपालले डेलिभरी क्षेत्रमा व्यापारीहरूको जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यसहित पार्सल सेवामा ‘डेलिभरीको सुनिश्चितता’ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार व्यवसाय सञ्चालनका क्रममा डेलिभरी असफल हुनु वा ढिलाइ हुनु व्यापारीका लागि प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ। जसको जिम्मेवारी अब पठाओ पार्सलले स्वयं लिने प्रतिबद्धता जनाएको छ।
पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यस सेवाअन्तर्गत पठाओ पार्सलमार्फत पठाइएको सामान सुरक्षित रूपमा र तोकिएको मितिभित्र डेलिभरी प्रयास गरिने सुनिश्चितता प्रदान गरिनेछ। यदि तोकिएको मितिसम्म डेलिभरी प्रयास नगरिएर ग्राहकले अर्डर रद्द गरेमा व्यापारीले सामानसँगै सामान बराबरको रकम फिर्ता पाउने व्यवस्था गरिएको छ।
कम्पनीले जनाएको अनुसार, तोकिएको मितिसम्म डेलिभरी प्रयास नभएको, ढिलाइका कारण ग्राहकले अर्डर रद्द गरेको तथा हड्ताल वा प्राकृतिक विपद् बाहेकका कारणले डेलिभरी नभएको अवस्थामा मात्र यो सुनिश्चितता लागू हुनेछ। साथै अर्डर रद्द भएको मितिबाट सात दिनभित्र दाबी गर्नुपर्ने प्रावधान राखिएको छ।
तर ग्राहकले गलत ठेगाना दिएको, सम्पर्कमा नआएको, ढिलाइ भए पनि अन्ततः डेलिभरी सफल भएको, अर्डर फिर्ता भएको वा सात दिनपछि दाबी गरिएको अवस्थामा भने यो सुविधा लागू नहुने कम्पनीले स्पष्ट पारेको छ।
व्यापारीहरूले आफ्नो रकम कम्पनीको व्यापारी विवरण प्रणालीमार्फत सजिलै दाबी गर्न सक्नेछन् । यसका लागि सम्बन्धित अर्डर छनोट गरी समस्या रिपोर्ट गर्ने, ढिलाइसम्बन्धी कारण उल्लेख गर्ने तथा आवश्यक प्रमाण पेस गर्नुपर्ने हुन्छ। कम्पनीको समस्या समाधान टोलीले करिब १५ देखि २० मिनेटभित्र सम्पर्क गर्ने र २४ देखि ४८ घण्टाभित्र प्रक्रिया सम्पन्न गरी रकम फिर्ता गर्ने व्यवस्था मिलाइएको छ।
पठाओ पार्सलले हाल देशभर ५०० भन्दा बढी स्थानमा सेवा विस्तार गरिसकेको जनाएको छ। साथै २४सै घण्टा सहयोग सेवा, छिटो समस्या समाधान र २४ घण्टाभित्र नगद भुक्तानी मिलान जस्ता सुविधा उपलब्ध रहेको जानकारी दिएको छ।
कम्पनीका अनुसार डेलिभरीको बाचा मात्र पर्याप्त नहुने र जोखिमको जिम्मेवारी लिन सक्नु नै वास्तविक भरोसा हुने बताइएको छ। यस नयाँ सेवामार्फत व्यापारीलाई तनावमुक्त बनाउँदै आफूलाई व्यवसायको भरपर्दो साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।