काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघभित्र राजनीतिक प्रभाव अन्त्य गर्ने लक्ष्यसहित पदाधिकारीलाई कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था विधानमै राख्ने घोषणा गरेका छन्।
आसन्न ६०औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा सोमबार काठमाडौंमा आयोजित प्यानल घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्र कमजोर हुनुको मूल कारणमध्ये एक व्यवसायीको राजनीतिक आबद्धता भएको दाबी गरे।
'हामी आफैँ विभाजित भयौँ, त्यसैले हाम्रो शक्ति क्षीण भयो,' उनले भने, 'अब निजी क्षेत्रलाई बलियो बनाउने हो भने राजनीतिक दूरी अनिवार्य छ।'
उनले महासंघ र वस्तुगत संघ दुवै तहका पदाधिकारीलाई राजनीतिक दलबाट टाढा राख्ने स्पष्ट नीतिगत व्यवस्था ल्याउने प्रतिबद्धता जनाए। यस्तो व्यवस्था कार्यान्वयन भएमा निजी क्षेत्रको साझा आवाज बलियो हुने र नीतिगत हस्तक्षेप प्रभावकारी बन्ने उनको विश्वास छ।
श्रेष्ठले आगामी कार्यकालमा निजी क्षेत्रका गुनासा सुन्ने र समाधान गर्ने प्रभावकारी संस्थागत संयन्त्र निर्माण गर्ने योजना सार्वजनिक गरे। उनले डेटा र अनुसन्धानमा आधारित नीति निर्माणलाई प्राथमिकता दिने उल्लेख गर्दै उद्योगी व्यवसायीका समस्या पहिचान गरी सरकारसँग सहकार्यमा समाधान खोजिने बताए।
'अब उद्योगी व्यवसायीले आफ्ना कुरा कसैले सुनेन भन्ने अवस्था रहँदैन,' उनले भने, 'गुनासा संकलन, विश्लेषण र नतिजामुखी समाधानका लागि छुट्टै प्रणाली विकास गर्छौं।'
उनले परम्परागत रुपमा सरकारलाई दबाब दिने अभ्यास मात्र नभई सार्वजनिक सरोकारका विधेयक स्वयं संसदसम्म लैजाने रणनीति अपनाइने पनि स्पष्ट पारे। यसले निजी क्षेत्रलाई नीतिगत प्रक्रियामा प्रत्यक्ष सहभागिता गराउने उनको दाबी छ।
त्यसैगरी, जिल्ला उद्योग वाणिज्य संघ तथा वस्तुगत समितिमा देखिएको स्रोत अभाव समाधान गर्न संघीय तहबाट स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने उनले बताए।
महासंघको विधानअनुसार ६०औँ साधारणसभापछि श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन्। नयाँ नेतृत्वमार्फत महासंघलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै व्यावसायिक, अनुसन्धानमुखी र एकीकृत संस्थाको रुपमा पुनर्संरचना गर्ने उनको संकेत छ।