काठमाडौं। ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नारासहति आज विश्व क्षयरोग दिवस मनाइँदै छ। क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ।
सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मुलुकमा हरेक वर्ष ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला पर्ने गरेका छन्। विश्व क्षयरोग दिवस अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला पर्नेमा १६ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको जानकारी दिइएको हो।
कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालको क्षयरोगको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै एक वर्षमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका जानकारी दिए। एक लाखमा करिब ५३ जनाको मृत्यु क्षयरोगका कारण हुने गरेको उनको भनाइ छ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औषधि प्रतिरोधी उपचारका लागि ३१ वटा केन्द्र र ९८ वटा उपकेन्द्र सञ्चालनमा छन्। त्यस्तै, १४९ स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान विस्तार गरी सक्रिय बनाइएको छ।
क्षयरोग प्राचीन कालदेखि मानव समुदायमा विभिन्न रोग र संक्रमणका रूपमा लिने गरिएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन्।
तीन हप्ता वा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, बढी पसिना आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्यचौकी गएर परिक्षण गराउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगको सङ्क्रमण सहजै हुन सक्छ।
औषधीको नियमित सेवनले क्षयरोग निको हुन्छ। यो रोग लाग्नुभन्दा लाग्न नदिन विशेष सचेतना अपनाउनुपर्छ। उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी क्षयरोग नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी भव्यताका साथ दिवस मनाउन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ।