डोटी। आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राती १२ बजे दुर्घटनामा परेको थियो। दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेलापरेका थिए।
यसैगरी झापाको कचनकवल गाउँपालिका–४ मा सवारी साधान(सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेशको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गए राती बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो। सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै, कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।
जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा ३५ वर्षीय चालक एक्लै रहेका थिए।
चालक परियारको उद्धार गरी प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ। वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।