काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा ऐन, २०७९ र प्राधिकरणका निर्देशन उल्लंघन गर्ने आठ वटा बिमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले नियम विपरीत कार्य गर्ने र स्पष्टीकरण चित्तबुझ्दो नदिने बिमा कम्पनी, पुनर्बिमा कम्पनी र ब्रोकर कम्पनीलाई जरिवाना तथा निलम्बन गर्ने निर्णय गरेको हो।
प्राधिकरणका अनुसार कारबाहीमा पर्नेमा नेपाल लाइफ, एसियन लाइफ, हिमालयन लाइफ, नेको इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर रहेका छन्। प्राधिकरणले २०८० चैत ३ गते यी कम्पनीमाथि कारबाहीको निर्णय गरेको हो।
कुन कम्पनीको के गल्ती र के भयो कारबाही?
प्राधिकरणद्वारा जारी पत्रअनुसार कम्पनीहरूको गल्ती र सजायको विवरण यसप्रकार छः
१. हिमालयन लाइफ इन्स्योरेन्सः
कम्पनीले बिमा ऐनको दफा ५७ को उपदफा (८) र ’बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०७४’ को दफा ३ र ७ उल्लंघन गरेको पाइएको छ। कार्यकारी प्रमुखको सुविधामा तोकिएको सीमा नाघेको कारण कम्पनीलाई बिमा ऐनको दफा १३४ (१) (क) र १३८ (४) (क) बमोजिम कारबाही गरिएको छ।
२. एसियन लाइफ इन्स्योरेन्स
एसियन लाइफले बिमा ऐन, २०७९ को दफा ६७ को व्यवस्था पालना नगरेको पाइएको छ। प्राधिकरणले यसलाई दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम कारबाही गरेको छ।
३. नेपाल लाइफ इन्स्योरेन्सः
नेपाल लाइफले बिमा ऐनको दफा १४८ को व्यवस्था उल्लंघन गरेको देखिएको छ। यसका कारण कम्पनीलाई दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम कारबाही गरिएको छ।
४. नेको इन्स्योरेन्सः
यस कम्पनीले बिमा ऐनको दफा ६३ (४) र दफा ६९ (१) (ङ) को व्यवस्था उल्लंघन गरेको छ। यस बापत कम्पनीलाई दफा १३८ र १३५ बमोजिम कारबाही गरिएको छ।
५. नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई प्राधिकरणले दिएको निर्देशन पालना नगरेकोमा बिमा ऐनको दफा १३४ (१) (ख) बमोजिम कारबाही गरिएको छ।
६. हिमालयन रि–इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सः
यी दुवै कम्पनीले प्राधिकरणले २०८० असार २९ मा जारी गरेको निर्देशन पालना नगरेको पाइएको छ। प्राधिकरणले दुवैलाई बिमा ऐनको दफा १३८ (४) (क) बमोजिम कारबाहीको निर्णय गरेको छ।
७. एलियन्ट इन्स्योरेन्स ब्रोकरः
प्राधिकरणको निर्देशन पालना नगर्ने एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई सबैभन्दा कडा कारबाही गरिएको छ। यस संस्थालाई बिमा ऐनको दफा १३४ (१) (ङ) बमोजिम निर्णय भएको मितिले तीन महिनाका लागि निलम्बन गरिएको छ।
कारबाहीको स्वरूप
प्राधिकरणले अधिकांश बिमा कम्पनीलाई प्रतिकम्पनी २ लाख रुपैयाँका दरले नगद जरिवाना तिराउने निर्णय गरेको छ। यसअघि प्राधिकरणले यी कम्पनीलाई गल्ती सुधार गर्न र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। तर, कम्पनीहरूले पेस गरेको जवाफ सन्तोषजनक नभएपछि प्राधिकरणले एक्सन लिएको हो।
बिमा प्राधिकरणले पछिल्लो समय नियमन र सुपरिवेक्षणमा कडाइ गर्दै आएको छ । ‘बिमा क्षेत्रलाई पारदर्शी र उत्तरदायी बनाउन ऐन र नियमको पालना अनिवार्य छ,’ प्राधिकरणले भनेको छ, ‘निर्देशन अटेर गर्ने र संस्थागत सुशासन कायम नगर्ने जो सुकैलाई कानुन बमोजिम कारबाही जारी रहनेछ।’
यो कारबाहीले बिमा बजारमा सुशासन कायम गर्न मद्दत पुग्ने र बीमितको हित संरक्षण हुने विश्वास प्राधिकरणले लिएको छ।