काठमाडौं। डिजिटल बैंकिङमा आक्रामक रणनीति अपनाउँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकका लागि अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्क ‘मास्टरकार्ड’सँग सहकार्य सुरु गरेको छ। बैंकले आफ्ना कार्ड प्रयोगकर्तालाई थप विकल्प र सुविधा प्रदान गर्ने उद्देश्यले यो नयाँ ‘ब्रान्ड’ भित्र्याएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालका अनुसार, बजारमा भिसा कार्ड मात्रै उपलब्ध गराइरहेको अवस्थामा मास्टरकार्डको प्रवेशले ग्राहकलाई आफ्नो रुचि र आवश्यकता अनुसार कार्ड छनोट गर्ने सुविधा दिएको छ।
किन रोजियो मास्टरकार्ड? विषेशता के छ?
मास्टरकार्ड विश्वव्यापी रुपमा बलियो उपस्थिति र सञ्जाल भएको ब्रान्ड हो। ‘अहिलेसम्म हामीले भिसा मात्र दिइरहेका थियौं, जसले गर्दा मास्टरकार्ड खोज्ने ग्राहकलाई छैन भन्नुपर्ने स्थिति थियो,’ खनालले भने, ‘अहिले मास्टर कार्डसँगको सम्झौतापछि त्यो अवस्था अन्त्य भएको छ र ग्राहकले अन्तर्राष्ट्रिय स्तरका अफर र सुविधाहरू स्वतः प्राप्त गर्ने छन्।’
बैंकले प्रत्यक्ष रूपमा भन्दा पनि मास्टरकार्डले विश्वभर र नेपालका विभिन्न मर्चेन्टहरूसँग टाई-अप गरेर ल्याउने क्याम्पेनहरूबाट ग्राहकहरू लाभान्वित हुने बैंकका चिफ डिजिटल बैंकिङ अफिसर अनिश ताम्राकारले बताए।
नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार यो कार्ड हाललाई नेपाल, भारत र भुटानमा मात्र चल्नेछ। तेस्रो मुलुक (विदेश)मा प्रयोग गर्नका लागि ग्राहकले ट्राभल कोटा वा डलर खाताको सुविधा लिनुपर्ने हुन्छ, जुन बैंकले भविष्यमा थप गर्ने योजना बनाएको छ। विदेशमा रहेका नेपालीहरूले पनि यो कार्डमार्फत नेपालका ई-कमर्स प्लेटफर्म (जस्तैः दराज) बाट सहजै सामान खरिद गर्न सक्ने छन्।
पूर्ण रूपमा डिजिटल र सुरक्षित
यो कार्ड कुमारी बैंकको मोबाइल एपसँग पूर्ण रूपमा एकीकृत गरिएको छ। ग्राहकले बैंक नगईकन एपबाटै कार्ड ब्लक गर्ने, अनब्लक गर्ने, कारोबार विवरण हेर्ने र पिन रिसेट गर्ने जस्ता सुविधाहरू प्रयोग गर्न सक्छन्।
भविष्यमा मोबाइल बैंकिङ एपबाटै सिधै कार्ड छनोट गरेर भुक्तानी गर्न मिल्ने टोकनाइजेसन प्रविधि पनि ल्याउने तयारी भइरहेको ताम्राकारले जानकारी दिए।
बजारको चुनौती र लक्ष्य
नेपालमा हाल क्यूआर भुक्तानी निकै मास रूपमा बढेको छ। यस्तो अवस्थामा कार्ड पेमेन्टलाई पनि सोही स्तरमा लैजानु र दुवै प्रणालीलाई सन्तुलित रूपमा अगाडि बढाउनु बैंकको मुख्य लक्ष्य रहेको छ। बैंकले आगामी एक वर्षभित्र ठूलो संख्यामा मास्टरकार्ड प्रयोगकर्ता थप्ने लक्ष्य राखेको छ।