काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले महासंघ भित्र सर्वसम्मत नेतृत्व चयनको अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सर्वसम्मतिका लागि आफू निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उनले आवश्यक परे चुनावी प्रतिस्पर्धामा पनि खुला रूपमा उत्रिने चेतावनी दिएका छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहको वस्तुगततर्फको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघलाई बलियो बनाउन सहमति र सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरे। उनले आफूले कार्यसमिति सदस्यदेखि पदाधिकारीसम्मको यात्रामा सधैं सर्वसम्मति पद्धतिको वकालत गर्दै आएको बताए।
ढकालका अनुसार हाल एक प्रदेशमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ र छिट्टै औपचारिक घोषणा हुने अवस्था रहेको छ। “यदि हामीले इमान्दार प्रयास ग¥यौं भने प्रदेशदेखि केन्द्रसम्म सर्वसम्मत नेतृत्व सम्भव छ,” उनले भने।
तर, वरिष्ठ उपाध्यक्षले नै ‘मेरो प्यानल’ भन्दै चुनावी अभियान सुरु गर्नु संस्थागत मूल्य र प्रक्रियामाथिको प्रहार भएको उनको भनाइ थियो। यस्तो प्रवृत्तिले महासंघको एकता र स्थायित्वमा असर पर्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
“केही दिन अझै सर्वसम्मतिका लागि प्रयास गर्छु,” उनले भने, “तर यदि संस्थागत प्रक्रिया मिचेर प्यानल बनाएर अघि बढिन्छ भने म पनि अर्को पक्षका उम्मेदवारहरूको पक्षमा खुलेर लाग्नेछु।”
ढकालले आफू कुनै स्थापित व्यवसायिक पृष्ठभूमिबाट नआएर शून्यबाट उठेर महासंघको नेतृत्वसम्म पुगेको उल्लेख गर्दै आफ्नो सफलताको आधार इमान्दार मेहनत र निरन्तर प्रयास रहेको बताए।
उनले आफ्नो कार्यकालमा गरेका पाँच प्रमुख प्रतिबद्धतामध्ये अधिकांश पूरा भइसकेको दाबी गर्दै आगामी नेतृत्वका लागि बलियो आधार तयार भएको उल्लेख गरे। तर, ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन योजना’ भने अझै कार्यान्वयन हुन बाँकी रहेको उनले बताए।
ढकालका अनुसार निजी क्षेत्रलाई विगतमा गलत रूपमा केवल नाफामुखी समूहका रूपमा चित्रण गरिएको छ, जबकि यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ। “निजी क्षेत्रले देशको ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गरेको छ र कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशतभन्दा बढी योगदान दिएको छ,” उनले भने।
व्यावसायिक प्रतिष्ठानलाई ‘शान्ति क्षेत्र’ जस्तै सुरक्षित बनाउने अवधारणा अघि सारिएको उल्लेख गर्दै उनले यसले निजी क्षेत्रप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
आगामी नेतृत्वले उक्त योजनालाई निरन्तरता दिँदै निजी क्षेत्रको सम्मान र संरक्षण सुनिश्चित गर्ने अपेक्षा उनले व्यक्त गरेका छन्।