काठमाडौं। निजी क्षेत्रको ठुलो सञ्जाल भएको एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गर्न सकेको छैन। सञ्चालकहरूले आफ्नो स्वार्थमा नियामकीय नीति उल्लङ्घन गर्दै हकप्रद सेयरको दाउमा नियमित वार्षिक साधारण सभामा ३ महिना ढिलाइ गरेका हुन्।
सञ्चालनमा रहेका २० मध्ये १९ वाणिज्य बैंकले नियामकले साधारण सभाको स्वीकृतिसहितको वित्तीय विवरण पारित गर्ने बित्तिकै साधारण सभा सम्पन्न गरिसकेका छन्। तर, एनआइसी एशियाले भने अन्तिम स्वीकृति पाएर पनि साधारण सभाको मिति तय गरेको छैन।
राष्ट्र बैंकले एनआइसीलाई गत माघमा नै साधारण सभा बोलाउने गरी वित्तीय विवरणमा स्वीकृति दिएको स्रोत बताउँछ। ‘एनआइसीलाई माघमै एजिएम क्लियरिङ्गस् दिइसकेका छौरु उसले २१ दिनको समय राखेर एजएिम कल गर्न सक्थ्यो, उसको ब्यालेन्ससीटमा करिब साढे ३ अर्ब प्रोभिजन प्लस होला,’–राष्ट्र बैंक स्रोतले भन्यो।
बैंकले साधारण सभा ढिलाइ गर्नुको एउटा मुख्य कारण प्रोभिजनिङको दबाब पनि हुन सक्छ। राष्ट्र बैंकले बैंकको खराब कर्जा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै करिब साढे ३ अर्ब रुपैयाँ थप प्रोभिजन गर्न निर्देशन दिइसकेको छ। यति ठुलो परिमाणमा प्रोभिजन थपिँदा बैंकको वितरणयोग्य नाफामा सिधा असर परेको छ।
अन–अडिटेड रिपोर्टमा आकर्षक नाफा देखाएको बैंकले अडिटेड रिपोर्टमा ठुलो रकम प्रोभिजनमा छुट्टाउनुपर्दा लगानीकर्तालाई दिने लाभांश क्षमतामा उल्लेख्य गिरावट आएको छ। वित्तीय विवरण स्वीकृत भएको दुई महिना बितिसक्दा पनि सो जानकारी सार्वजनिक नगर्नु र साधारण सभा रोक्नुलाई बजारमा खराब वित्तीय चित्र लुकाउने प्रयासका रूपमा समेत हेरिएको छ।
बैंकको हकप्रद स्वीकृतिको पर्खाई
राष्ट्र बैंकले कम्पनी ऐनले तोकेको समयमै वार्षिक साधारण सभा गर्ने गरी वित्तीय विवरणमा अन्तिम स्वीकृति दिएको २ महिना बित्दा पनि एनआइसीले एजिएम नगर्नुले संस्थागत सुशासन र नियामकिय पालनामाथि प्रश्न उठेको छ। बैंकले गत पुस २० गते नै चुक्ता पुँजीको ५० प्रतिशत (२ः१ को अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरे पनि चैतको अन्तिम सातासम्म साधारण सभाको मिति तय गर्न सकेको छैन।
बैंकले साधारण सभाको मिति तय नगर्दा लगानीकर्ताहरू अन्योलमा परेका छन्। यसबारे जिज्ञासा राख्दा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजित शाक्यले हकप्रदको स्वीकृति नै मुख्य कारण रहेको बताएका छन्।
‘हामीले हकप्रद सेयर जारी गर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित गरेर पूर्व–स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएका छौँ। राष्ट्र बैंकबाट हकप्रदको स्वीकृति प्राप्त भएपछि एजिएम कल गर्छौँ। अहिले हामी नियामकको स्वीकृतिको प्रतीक्षामा छौँ,– सिइओ शाक्यले भने।’ सीइओको यो भनाइले बैंकले हकप्रदको स्वीकृति नपाएसम्म साधारण सभा डाक्ने पक्षमा नहरेको के संकेत गर्छ। तर, राष्ट्र बैंकको आन्तरिक तयारी र नीतिगत प्रक्रियालाई हेर्दा यो प्रतीक्षा अझै लामो हुने निश्चित देखिएको छ।
तर, कम्पनी ऐन, २०६३ अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र (पुस मसान्तसम्म) वार्षिक साधारण सभा गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था छ। सो समयभित्र सभा नगरेमा कम्पनी रजिस्ट्रारको कार्यालयले चुक्ता पुँजी र ढिलाइ भएको समयका आधारमा नगद जरिवाना गर्ने प्रावधान छ। एनआईसी एसियाले पोहोर पनि जरिवाना तिरेरै ढिलो सभा गरेको थियो।
बैंकका सिइओ जयचन्द्र रावलले राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलको आफन्त पर्ने भन्दै आफू मिलाउने भन्दै लागेपछि यसमा झन् समस्या देखिएको छ। रावलले भने नियमित काम भएको र वैशाख भित्र साधारण सभा हुने बताए।