काठमाडौं। बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राजनीतिक कोटामा नियुक्त भएका थप ६ जना राजदूतलाई फिर्ता बोलाउने भएकाे छ। परराष्ट्र मन्त्रालयका अनुसार भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतहरू यो निर्णयको दायरामा पर्नेछन्।
फिर्ता बोलाइने राजदूतहरूमा भारतस्थित डा. शंकर शर्मा, अस्ट्रेलियास्थित चित्रलेखा यादव, डेनमार्कस्थित सुम्निमा तुलाधार, दक्षिण कोरियास्थित शिवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकास्थित कपिलमान श्रेष्ठ र श्रीलंकास्थित पूर्णबहादुर नेपाली रहेका छन् ।
गत असोजमा तत्कालीन अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सरकारले ११ देशमा कार्यरत राजनीतिक कोटाका राजदूतलाई एकसाथ फिर्ता बोलाएको थियो । तर माथि उल्लिखित ६ राजदूत भने त्यतिबेला फिर्ता बोलाइएका थिएनन् । अब नयाँ सरकारले तिनीहरूलाई पनि फिर्ता गर्ने तयारी गरेको हो ।
गत चैत १३ गते सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पहिलेदेखि नै सम्पूर्ण राजनीतिक नियुक्तिहरू खारेज गर्ने अडान राख्दै आएको थियो । सरकारी तथ्यांकअनुसार यस्ता राजनीतिक नियुक्तिको संख्या ११ सयभन्दा माथि छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालका विश्वभर ३४ वटा दूतावास तथा स्थायी नियोग छन्, जहाँ परम्परागत रूपमा ५० प्रतिशत करियर कूटनीतिज्ञ र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गरिँदै आएको छ । हाल परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् ।