काठमाडौं। पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटर फ्रन्टमा डोजर चलाइएपछि यसबारे शाक्यले यसबारे स्पष्टीकरण दिएका छन्। वाटर फ्रन्टको स्वीमिङ पुल, गेटलगायत संरचनामा शनिबार बिहानै प्रहरीले डोजर चलाएको हो।
सर्वोच्चत अदालतले उक्त होटल हटाउन छुट्टै आदेश दिएको थियो। अहिले होटलको अरु संरचना चलाइएको छैन। ताल किनारबाट ६५ मिटरभित्र परेका कारण ती संरचना भत्काइएको थियो।
यस क्रममा वाटर फ्रन्ट होटल पनि परेको हो। होटलमा डोजर चलेसँगै शाक्यले आफूहरूको व्यवसाय मात्र नभई आफ्नो विश्वास, संघर्ष र आस्थाको प्रतीकमाथि प्रहार गरेको बताएका छन्। उनले भने, '२० वर्षपहिले, माओवादी आन्दोलनताका जब देशमा तन, मन र धन पलायन भयो, तर मैले स्वदेशमै पर्यटन व्यवसायमा लाग्ने निर्णय गरेँ। त्यही बेला म र मेरो मित्र दिवाकर राजकर्निकारले फेवाताल नजिक एउटा पोखरेली रैथाने उद्यमीसँग उसको ‘बुद्ध लज’ सहितको १७ रोपनी जग्गा किनेर अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गर्यौँ। यो हाम्रो सपना बिपना पसिना र विश्वासले साकार हो।'
उनले कुनै पूर्वसूचनाबिना नगरपालिकाले होटलको पर्खाल भत्काउन आएको भन्दै दुःख व्यक्त गरेका हुन्। 'हाम्रो मनमा गहिरो पीडा र चिन्ता जाग्यो। अहिले त टुरिस्ट सिजनको समय हो। होटल पाहुनाले भरिएको छ। यति सबेरै पहिलो निशानामा हाम्रो होटल किन? के हामी खराब उद्यमी हौँ र?' उनले प्रश्न गरे।
तालको वरपर ६५ मिटरको मापदण्ड कुनै निजी मुद्दा नभई राष्ट्रिय सरोकारको विषय भएको बताए। उनले आफ्नो होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरे। उनले थपे, 'जग्गा मिचेको छैन। लालपुर्जा छ। नक्सा पास छ। पर्यटन विभागको लाइसेन्स छ। उद्योग विभागको प्रमाणपत्र छ। राष्ट्र बैंकको इजाजतपत्र सबै छ। हरेक वर्ष कर तिरेका छौँ। कुनै बैंकको ऋण छैन। एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ। तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन?'
लेकसाइड क्षेत्रको तालनजिक हजारौँ बस्ती, उद्योग, व्यापार, होटल र रेस्टुरेन्टहरू भएको बताउँदै उनले उचित मुआब्जा दिएर विधिवत् अधिग्रहण गर्नुपर्ने धारणा राखे।