काभ्रेपलाञ्चोक। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्र गर्ने काम सुरु गरिएको छ। धुलिखेल चोकबाट एकतर्फी कालोपत्र सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। स्तरोन्नति भइरहेको उक्त चार किलोमिटर सडकमध्ये पहिलो चरणमा २ दशमलव ५ किमी कालोपत्र हुने भएको हो।
कालोपत्र गर्नका लागि रातिको समयमा सडक आवागमन रोकेर निर्माण भइरहेको सो कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। उनका अनुसार यही चैत ७ ।देखि २० गतेसम्म र चैत २१ देखि ३० गतेसम्म रातिको समयमा आवागमन रोकेर काम भइरहेको छ। सो अवधिमा टिपरलगायत मालवाहक सवारीलाई भने पूर्णतः निषेध गरिएको छ।
उक्त खडकखण्डको बाँकी एक दशमलब पाँच किलोमिटर दोस्रो चरणमा कालोपत्र गरिने छ। ग्राभेलमाथि २० सेन्टीमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्र गर्ने काम हुने जनाइएको छ। लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो।
कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो। उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने प्रमुख योगेशको भनाइ छ। सात मिटर चौडाइको बन्ने उक्त सडकखण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने जनाइएको छ।
सो सडकखण्डमा तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम हुन नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएका उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो।
सो निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो। उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ।–रासस