काठमाडौं। क्रसिङ, स्क्रिनिङ तथा म्याटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित भारतीय कम्पनी टौरियन एमपीएस लिमिटेडले आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेडलाई नेपालका लागि आफ्नो आधिकारिक डिलरका रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ।
यो साझेदारी सम्झौता आज होटल बाराही प्लाजा, काठमाडौँमा आयोजित एक भव्य समारोहमार्फत सम्पन्न भयो। समारोहमा टौरियन एमपीएसका तर्फबाट ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन तथा अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पथानिया उपस्थित थिए भने आरबीजी इन्टरनेशनलका तर्फबाट अध्यक्ष बलराम उपाध्याय, निर्देशक रवि रञ्जन कुमार र निर्देशक श्यामल झा उपस्थित भई साझेदारीप्रति आफ्नो उच्चस्तरीय प्रतिबद्धता झल्काए। टौरियन एमपीएस इन्जिनियर्ड उत्कृष्टता, उच्च गुणस्तरीय उत्पादन तथा ग्राहककेन्द्रित समाधानका लागि बलियो प्रतिष्ठा बनाएको कम्पनी हो।
कम्पनीको उपस्थिति हाल उत्तर अमेरिका, रसिया, मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार भइसकेको छ।
सन् २०१९ मा स्थापित आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेड नेपालभर एडमिक्सर केमिकल, निर्माण उपकरण, आरएमसी एक्सेसरिज तथा वाटरप्रुफिङ समाधानमा सक्रिय रूपमा कार्यरत कम्पनी हो।
आफ्नो प्राविधिक दक्षता र परियोजनाकेन्द्रित कार्यशैलीमार्फत यस कम्पनीले नेपाली बजारमा बलियो विश्वास आर्जन गरेको छ।
यस साझेदारीअन्तर्गत आरबीजी इन्टरनेशनलले टौरियन एमपीएसको क्रस प्लान्ट क्षेत्रमा प्रवेश गर्नेछ, जहाँ गुणस्तरीय उपकरणका साथसाथै बिक्रीपछिको सेवा, न्यून डाउनटाइम र दीर्घकालीन भरपर्दो सञ्चालन सुनिश्चित गरिनेछ।
नेपालमा जलविद्युत तथा पूर्वाधार विकासका कारण उच्च क्षमताका क्रस प्लान्ट तथा म्याटेरियल प्रोसेसिङ उपकरणको माग निरन्तर बढिरहेको सन्दर्भमा यो साझेदारी अत्यन्त सामयिक मानिएको छ। यस साझेदारीले नेपालमा अत्याधुनिक क्रसिङ तथा स्क्रिनिङ समाधानहरूको पहुँच वृद्धि गर्ने तथा देशको पूर्वाधार विकास र औद्योगिक प्रगतिमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।