म्याग्दी। बेनी नगरपालिका ४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ।
गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा तीन करोड ५१ लाख ७२९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।
निर्धारित समयभित्रै निर्माण सकिएको भवनको चाँडै शुभारम्भ गरेर प्रयोगमा ल्याउने तयारी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका इन्जिनियर प्रहरी नायब उपरीक्षक चिरञ्जीवीप्रताप महतोले जानकारी दिए।
भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयनकक्ष छन्। स्थापना कालदेखि सिङ्गा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो।
आफ्नै भवन भएपछि नागरिकलाई सेवा प्रवाह गराउन र कार्यालय सञ्चालन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।
भवन निर्माणका लागि सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले करिब १५ वर्षअघि राक्सेमा दुई रोपनी जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका थिए।
सिङ्गा तातोपानी कुण्ड स्नानका लागि आएका बिरामीले तिर्ने प्रवेश शुल्कबाट संकलन भएको रकमबाट जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका हुन्। यसअघि म्याग्दीमा जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका थिए।
इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी, राखु भगवती प्रहरी चौकीको आफ्नै भवन छैन।
जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको जिल्ला प्रहरी कार्यालयका प्रमुख थापाले बताए।