म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ बरम्जामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गरेका छन्। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत, विसं २०६३ को अन्तरिम संसद् र २०६४ देखि २०७० सम्म संविधानसभा सदस्य रहनुभएका श्रीसले राजनीतिज्ञसँगै कृषक र उद्यमलाई निरन्तरता दिएका हुन्।
भूमिगत राजनीति र संविधानसभा सदस्यको कार्यकाल पूरा गरेपछि जन्मथलो फर्कनुभएका उनले श्रीस कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर बाख्रापालन र सुन्तला खेती गरेका छन्। मध्यमवर्गीय पृष्ठभूमिका श्रीसले आत्मनिर्भरता र जीविकोपार्जनका लागि बाख्रापालन र सुन्तला खेती रोजेको बताए।
दुई वटा बाख्रा र रु एक लाख लगानीबाट सुरु भएको श्रीसको फार्ममा हाल ३० वटा बाख्रा छन्। वार्षिक १५ देखि २० वटा खसीबोका बिक्री गर्छन्। परम्परागत खाद्यान्न खेतीको विकल्पमा उनले खेतबारीमा लगाएको ३५० बोट सुन्तलाले उत्पादन दिन थालेका छन्।
‘नागरिकको अवस्था सुधार, आर्थिक, सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशिलतानै प्रमुख आधार हो,’ उनले भने,‘पहाडी क्षेत्रमा आत्मनिर्भर र स्वरोजगारका लागि बाख्रापालन र सुन्तलाखेतीको सम्भावना देखाउनका लागि आफँै अग्रसर भएको हो।’
खरी र जमुनापारि जातका बाख्रा पालेका छन्। केही समय खाद्यान्न पसलको डिलर सञ्चालन गर्नुभएका श्रीसले सुरुआतमा ताराखोलाबाट किनेर ल्याएको हावापानी नमिलेका कारण मरेर क्षति ब्यहोर्नु परे पनि निराश नभई व्यवसायलाई निरन्तरता दिएको सुनाए। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक र व्यवस्थित खोर निर्माण गरेका छन्। श्रीसको अगुवाइमा नमूना कृषक समूहमार्फत बरम्जाका १५ घरपरिवार किसानले व्यावसायिक बाख्रापालन गरेका छन्। बरम्जाका किसानले बाख्रापालन र सुन्तला खेतीका अलावा गाईभैँसीपालन गरेर दूध उत्पादन गरि तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन्।
श्रीसले खाली जमिनमा बाख्रालाई आवश्यक पर्ने घाँस खेती गर्नुभएको छ। श्रीससहित बरम्जाका किसानहरूलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले सघाएका छन्। बिहान–बेलुकी र फुर्सदको समयमा बाख्रा तथा सुन्तलाको स्याहार सुसारमा व्यस्त हुने श्रीस स्थानीय सामाजिक गतिविधि पनि संलग्न छन्। हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेका श्रीसले राजनीतिसँगै कृषि उद्यमलाई विस्तार र निरन्तरताको योजना बनाएका छन्।
माहुरीपालन सुरु गर्ने तयारीमा रहेका श्रीसलाई श्रीमती बिष्णुमती, छोरा र परिवारका सदस्यहरूले पनि साथ दिनु भएको छ। विद्यार्थीकालदेखि नै श्रीसमगर नेकपा ९माओवादी० पार्टीमा आबद्ध भएका थिए। २०५८ सालदेखि उनी भूमिगत भएका थिए।–रासस