काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताहरूलाई इन्धन खपतका लागि अनुरोध गरेको छ। अन्तर्राष्ट्रिय रूपमा इन्धनको मूल्य दैनिक रूपमा बढेसँगै निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भिडियो सन्देश जारी गर्दै एक जना मोटरसाइकलले दैनिक १ लिटर पेट्रोल बचाउन सके राज्यको २२ करोड बच्ने र पेट्रोल/डिजेल प्रयोग गर्ने १ गाडिले प्रतिदिन १ लिटर बचत गरेमा करिब ४ करोड बचत हुने उल्लेख गरेका छन्।
उनले दैनिक १ लिटर पेट्रोल र डिजेल बचाउँदा मात्र प्रति दिन कुल बचत २६ करोड हुने र मूल्य समायोजनको अवधि १५ दिनमा करिब ३ अर्ब ९० करोड बचत गर्न सकिने भएकोले सम्पूर्ण जिम्मेवार नागरिकलाई अनुरोध गरिएको बताएका छन्।
निगमको वर्तमान वित्तीय अवस्था र विश्व बजारको दबाबको विषयमा भट्टले प्रष्ट पारेका हुन। सरकारले कर छुट दिँदा पनि किन मूल्य बढ्यो भन्ने विषयमा समेत निगमले जवाफ दिएको छ।
कार्यकारी निर्देशक भट्टका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उछाल र भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ खरिद दरमा भएको उल्लेख्य वृद्धिका कारण निगमले मूल्य समायोजन गर्नै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको हो।
‘सरकारले जनहितलाई ध्यानमा राखेर केही शीर्षकमा कर सहुलियत दिएकै कारण मूल्य अझै धेरै माथि जान नपाएको हो।’ कार्यकारी निर्देशक भट्टले भने ‘सरकारले करमा उक्त लचकता नदेखाएको भए र निगमले आफ्नो लागत अनुसारकै मूल्य तोकेको भए इन्धनको भाउ अहिलेको तुलनामा निकै महँगो हुने थियो।’
लागत मूल्य नै बिक्री मूल्यभन्दा बढी भएको बताउँदै सरकारले कर घटाए पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले उक्त छुटको प्रभावलाई ओझेलमा पारिदिएको उनको भनाइ छ। निगम अहिले पनि ठुलो सञ्चित नोक्सानीमा रहेको र पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नका लागि वित्तीय सन्तुलन कायम राख्नु अपरिहार्य रहेको उनले बताए।
निगमले आफ्ना प्रशासनिक खर्चहरू कटौती गरिरहेको र डिपो व्यवस्थापनदेखि ढुवानीसम्मका प्रक्रियालाई डिजिटल र पारदर्शी बनाउन लागेको बताउँदै मूल्यवृद्धिको भारी उपभोक्तालाई मात्र नबोकाइएको निगमले पनि बोकेको उनको भनाइ छ।