काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेल र ट्राभल प्लेटफर्म टर्बोबीच सम्झौता भएको छ। सम्झौतापछि ग्राहकले एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिमा आकर्षक छुट पाउनेछन्।
साझेदारीअन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतमा छुट प्राप्त गरी बचत गर्न सक्छन्। ग्राहकले एनसेल एपबाटै डिजिटल रुपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।
छुट सुविधा एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिमा आबद्ध हुँदा पाउन सक्नेछन्। ग्राहकले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८ हजार रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने एनसेलले बताएको छ।
ग्राहकले पहिलो पटक आन्तरिक हवाई यात्रामा २०० रूपैयाँ र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ र बस टिकट बुकिङमा १११ रुपैयाँ छुट प्राप्त गर्न सक्छन्।
साझेदारीबारे प्रतिक्रिया दिँदै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपांग दत्ताले भने, ‘हामी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदालाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध छौं। ट्रिप टर्बोसँगको हाम्रो साझेदारीले यो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। एनसेल एपमार्फत ग्राहकले अब यात्रा र विविध गतिविधिमा बचत गर्न सक्छन्, जसले उनीहरूको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउँछ।’
एनसेल एपको इकोसिस्टममा नवीन सेवा र विश्वसनीय पार्टनर अफर एकीकृत गर्दै कम्पनीले ग्राहकको अनुभवलाई निरन्तर रूपमा थप परिष्कृत गर्दै परम्परागत दूरसञ्चार सेवाभन्दा फरक लाभ प्रदान गरिरहेको छ। यो साझेदारी दैनिक जीवनलाई सरल बनाउन डिजिटल नवीनता प्रयोग गर्ने एनसेलको मान्यतासँग मिल्दछ र ग्राहकलाई थप सुविधा र छनोटको अवसर प्रदान गर्दछ।