काठमाडौं। एमजी मोटर इन्डियाको नयाँ फ्ल्यागशिप एसयूभी ‘एमजी मजेस्टर’ले ४०६.४ टन तौलको रेल तानेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ। सार्वजनिक हुनुअघि नै विश्वभर चर्चा कमाएको यो एसयूभीले ३०० फिटभन्दा बढी दूरीसम्म रेल तानेर सबैभन्दा भारी रेल तानेको एसयूभीको कीर्तिमान बनाएको हो।
एमजी मोटर इन्डियाले यस एसयूभीलाई आगामी अप्रिल २० मा आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। व्यावसायिक बिक्री सुरु हुनभन्दा अगाडि नै गिनिज वर्ल्ड रेकर्डमार्फत गरिएको यो प्रदर्शनले डेब्यु अघि नै बजार व्यापक चर्चा बटुलेको छ।
‘एमजी मजेस्टर’ को यो परीक्षण जम्मु–कश्मीरस्थित सञ्चालनमा रहेको रेलमार्गमा गरिएको थियो, जसलाई गिनिज वर्ल्ड रेकर्डले औपचारिक रूपमा प्रमाणीकरण गरेको छ।
यसमा विशेष कुरा के छ भने रेकर्ड बनाउँदा प्रयोग गरिएको गाडी पूर्ण रूपमा स्टक प्रोडक्सन युनिट थियो, जसमा कुनै पनि प्रकारको मेकानिकल परिमार्जन गरिएको थिएन।
एमजी मजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले करिब २१३ बीएचपी पावर र ४७८ एनएम टर्क उत्पादन गर्छ। यसमा ८–स्पिड टर्क कनभर्टर अटोमेटिक गियर बक्स दिइएको छ र रियर–ह्विल ड्राइभ तथा फोर–ह्विल ड्राइभ दुवै विकल्प उपलब्ध छन्।
अफ–रोड क्षमतामा समेत बलियो बनाउने उद्देश्यले यसमा तीन वटा लकिङ डिफरेन्सियल समावेश गरिएको छ, जसले यसलाई केवल प्रिमियम रोड एसयूभी मात्र नभई कडा भौगोलिक अवस्थाका लागि उपयुक्त सवारी बनाएको छ। एमजीको ग्लोस्टरभन्दा माथि राखिएको माजेस्टर डी–सेग्मेन्टको प्रिमियम एसयूभी हो, जसमा स्पेस, फिचर र क्षमता तीनै पक्षमा ध्यान दिइएको छ।
यसलाई शार्प, र स्याभी भेरियन्टमा उपलब्ध गराइनेछ भने ६ र ७ सिटर विकल्पहरु आउनेछन्। भारतमा सार्वजनिक भएसँगै एमजी मजेस्टर नेपालमा पनि भित्रिने पुष्टि भइसकेको छ। नेपाली बजारमा यसको आगमन मे महिनाको अन्त्यसम्म हुने अनुमान गरिएको छ। प्रिमियम ठुलो एसयूभी सेग्मेन्टमा यसले एमजीको उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।